
काठमाडौं ।
जनरल मोटर्सले अब आफ्ना पूर्ण विद्युतीय शेभी स्पार्कमा ब्याट्री प्रतिस्थापनको सुविधा बन्द गर्ने भएको छ।
हालै इन्साइडईभीजले ईभी-रिसोर्सेजलाई उल्लेख गर्दै बाहिर ल्याएको रिपोर्टमा यो जानकारी उपलब्ध भएको द भर्जले जनाएको छ।
शेभी स्पार्क ईभी सर्वप्रथम सन् २०१३ मा उत्पादन भएको र जीएमले त्यसलाई २०१६मा नयाँ मोडल नआउन्जेल निरन्तरता दिएको थियो।
जीएमका एक कार्यकारीले ईभी-रिसोर्सलाई दिएको जानकारी अनुसार कम्पनीले अबदेखि स्पार्क ईभीमा दिँदै आएको ब्याट्री प्याक प्रतिस्थापनको सुविधा बन्द गर्ने भएको हो।
जीएमसँग रहेको स्पार्क ईभीको ब्याट्रीको मौज्दात पनि सकिएको र कम्पनीले अरु उत्पादन गर्ने योजना पनि नबनाएकाले उक्त निर्णय आएको द भर्वले जनाएको छ।
यस सम्बन्धमा जीएमसँग जिज्ञासा लिन खोज्दा तत्काल कुनै प्रतिक्रिया नआएको समाचारमा उल्लेख छ।
स्पार्क ईभीको पुरानो मोडल आएको १० वर्ष हुनै लाग्दा नयाँ ब्याट्री प्याक उपलब्ध नभएका यी गाडीहरुले काम नगर्न सक्ने सम्भावना प्रबल देखिएको छ।
जीएमले स्पार्क ईभी तथा अन्य विद्युतीय गाडीहरुको ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख माइलको वारेन्टी उपलब्ध गराएको थियो। यस हिसाबले पनि उक्त वारेन्टी अवधि यस अघि नै समाप्त भइसकेको वा हुने क्रममा रहेको देखिन्छ।
जीएमले बिग्रिएका स्पार्क ईभीका लागि ब्याट्री प्याक प्रतिस्थापनलई निरन्तरता दिन्छ वा ईभी-रिसोर्सले संकेत गरे झैं ब्याट्री प्रतिस्थापनको सट्टा ती गाडीहरु नै किनिदिन्छ भन्ने यकिन नभएको द भर्जले उल्लेख गरेको छ।
प्रकाशित: १३ बैशाख २०७९, मंगलवार