नेपाली कांग्रेसको घोषणापत्रः शिक्षामा रोबोटिक्सदेखि सार्वजनिक निःशुल्क वाईफाईको व्यवस्थासम्म

  • Technology Khabar | ११ बैशाख २०७९, आईतवार
नेपाली कांग्रेसको घोषणापत्रः शिक्षामा रोबोटिक्सदेखि सार्वजनिक निःशुल्क वाईफाईको व्यवस्थासम्म

काठमाडौं ।

नेपाली कांग्रेसले विद्यालय तहदेखि नै नविनतम प्रविधिहरु रोबोटिक्स र आर्टिफिसियल इन्टेलीजेन्स लगायतको प्रयोगमा जोड दिने भएको छ।

नेपाली कांग्रेसले स्थानीय निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्दै शिक्षाको विकाससँगै नविनतम प्रविधिको विकास र निर्माणमा सहभागी हुने गरी शिक्षामा जोड दिने बताएको छ।

घोषणापत्रले द्रूत गतिमा विकास भइरहेको प्रविधि, भूमण्डलिकरण र विश्व परिवेशमा विकसित हुँदै गरेको आर्टिफिशल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, स्वचालन (अटोमेसन) को उपभोग मात्र गर्ने हैन, तिनको विकास र निर्माणमा सहभागी हुन सक्ने शिक्षाको जग बसाउन नेपाली कांग्रेसको नेतृत्वका सरकारहरूले समानान्तर रुपमा प्राथमिकतामा राख्ने उल्लेख छ।यसका साथै सबै वडा तहमा पुस्तकालय तथा ई–पुस्तकालयको स्थापना गर्ने समेत उल्लेख छ।

त्यसैगरी महानगर, उपमहानगर र ठूला नगरपालिकाहरूमा स्तरीय नवप्रवर्तन केन्द्र तथा माध्यमिक विद्यालहरूमा मेकरस्पेसको अवधारणामा रचनात्मक क्षमताको विकास गरिने घोषणा समेत गरिएको छ।

यस बाहेक पनि सूचना तथा संचारको प्रयोगलाई ध्यानमा दिँदै हरेक स्थानीय तहलाई प्रविधिमैत्री बनाउने, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा पुर्याउने, सबै सार्वजनिक स्थानमा निःशुल्क वाईफाईको व्यवस्था गर्ने, सरकारी कार्यालयहरुमा प्रविधिको उच्च प्रयोग गराउने योजना लिएको छ।

नेपाली कांग्रेसले नयाँ प्रविधिबाट गुणस्तरीय सेवामा द्रुत पहुँचको लागि टेलिमेडिसिन सेवा, कृषि उद्यमशिलता विकासमा नव प्रवर्तकहरुलाई प्रोत्साहन, प्राविधिक सेवा तथा बजारीकरणमा विद्युतीय सूचना प्रवधि प्रयोगमा प्रोत्साहन, कृषिमा डिजिटल प्रविधिको प्रसार लगायतलाई प्राथमिकतामा राखेको छ।

यस बाहेक स्थानीय तहको कर तथा राजस्व प्रणालीमा सूचना प्रविधिको अधिकतम प्रयोग, सौर्य लगायत नवीकरणीय उर्जाको प्रवर्धन गर्ने, हरेक घरमा विद्युतीय ऊर्जावाट खाने पकाउने प्रविधिको प्रयोग बढाउने गरी कार्यक्रमहरु लागू गर्ने, बिजुली, टेलिफोन, इन्टरर्नेट आदिलाई भूमिगत गराउन शुरु गर्ने विषयलाई घोषणापत्रमा समेटिएको छ।

यहि बैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ।

हेर्नुस् घोषणापत्र-

NC-Local-manifesto-2079-Final

प्रकाशित: ११ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...