सेनाले ब्यारेकमा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्ने

  • Technology Khabar | ११ बैशाख २०७९, आईतवार
सेनाले ब्यारेकमा खाना पकाउन विद्युतीय चुल्हो प्रयोग गर्ने

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज आइतबार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच जलविद्युतको विकास तथा खपतका विषयमा छलफल भएको छ।

सो अवसरमा मन्त्री भुसालले विद्युत खपत प्रवद्र्धनका लागि सहयोग गर्न नेपाली सेनालाई आग्रह गरिन् । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “अब नेपाली सेनाका भान्सामा जलविद्युत नै प्रयोग गरौँ। त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ।”

उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरिन्। आफूले निरन्तर विद्युत खपत र निर्यातलाई जोड दिइरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “विद्युत खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत खपत हुँदा हाम्रो पूँजी बाहिर जाँदैन।”

नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगादन रहने विश्वास व्यक्त गरिन्।

सो अवसरमा प्रधान सेनापति शर्माले नेपाली सेनाको भान्सा विद्युतिकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । उनले भने, “हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न शुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।”

महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न शुरु गरिसकेको जानकारी दिँदै भने, “मैले विद्युतीय गाडी नै चढ्छु। आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ।”

छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थित थिए।

यस अघि ऊर्जा मन्त्री भुसालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिईन्। त्यसैगरी उनले ठूला होटलका साथै रेष्टुराँमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापन गर्नका लागि आवश्यक पूर्वाधार तयार गर्न पहल गर्दै आएकी छिन्।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार