खानीगाउँमा मोबाईल सेवाले बदलियो दूर्गमको परिचय

  • Technology Khabar | १० बैशाख २०७९, शनिबार
खानीगाउँमा मोबाईल सेवाले बदलियो दूर्गमको परिचय

काठमाडौं ।

-थम्मन थापा

बागलुङको ढोरपाटन नगरपालिका वडा नं ६ स्थित विकट तथा दूर्गम खानीगाउँमा पहिलो पटक मोबाईल सेवा पुगेपछि दुर्गमको परिचय बदलिएको छ ।

नेपाल टेलिकमले गाउँ देखि माथि डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरि सेवा प्रवाह गरेसँगै स्थानिय बासिन्दा खुसी भएका छन्।

यसभन्दा पहिले सूचना र सञ्चारको लागि उक्त गाउँका बासिन्दा हुलाक र कटुवालको भर पर्दै आएका थिए। नेपाल टेलिकमले टूजी र थ्रिजी सेवा विस्तार गरेपछि अहिले ढोरपाटन नगरपालिकाको वडा नं ६ स्थित खानीगाउँ, खिबाङ, खोरिया, थाम्का र चामीदुवारका झण्डै २ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।

भौगोलिक हिसाबले विकट मानिने उक्त गाउँमा मोबाईल सेवा नहुँदा स्थानियले कठिनाई झेल्दै आएका थिए । कुनै जानकारी, सूचना आदान प्रदान गर्न या आफन्तलाई केहि भन्न र सरकारी कामकाज गर्न गराउन सम्बन्धित ठाउँमै पुग्नुपर्ने बाध्यता मोवाईल सेवा पुगेपछि हटेको छ।

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप अत्यन्तै विकट र दूर्गम बस्तीलाई पहिलो प्राथमिकतामा राखेर आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्ररुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए।

आर्थिक हिसाबले भन्दा पनि दूरदराज र विकट बस्तीमा सेवा पुराउने उद्येश्यले अहिले टूजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याईएको उनले बताए। शर्माले भने, “जिल्लाकै निकै दुर्गम र विकट रहेको उक्त स्थानमा मोबाईल सेवा सुचारु भए सँगै पहिले डाँडा तिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, ईन्टरनेटको पहुँच बाहिर रहनुपर्ने बाध्यता हटेको छ।”

यो गाउँमा पहिले नेटवर्क नै थिएन अधिकांश भूभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भूभाग समेटने गरि यो टावर निर्माण गरि सेवा सुचारु गरेपश्चात अहिले समस्या हल भएको कार्यालय प्रमुख शर्माको भनाई छ।

स्थानियबासीसँग समन्वय र नेपाल टेलिकमसँगको सहकार्यमा स्थायी संरचना निर्माण गरि मोबाईल सेवा सुचारु गर्न सफल भएको स्थानीय समाजसेवी रेशम बुढा मगरले जानकारी दिए। टेलिकमले उक्त स्थानमा मोबाईल सेवा सञ्चालन गर्न एक वर्ष पहिलेदेखि गृहकार्य गरेको भएतापनि कोभिडको कारण केहि ढिलाई भएको जनाएको छ।

टेलिकमले उक्त टावरमा निकट भविष्यमा अत्याधुनिक प्रविधीको चौथो पुस्ताको फोरजी मोबाईल सेवा उपलब्ध गराईने जनाएको छ। सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समयसापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ।

मोबाईल सेवा सुचारु भएपछि पहिले डाँडा तिर धाउनु पर्ने बाध्यता हटेको स्थानियले बताएका छन्। भौगोलिक विकटतासँगै सञ्चार सेवा नहुँदा गाउँलेले निकै समस्या झेलेका थिए अहिले घरभित्रै बसेर फोनमा कुराकानी गर्न र मोबाईलमा ईन्टरनेट चलाउन पाउँदा खानीगाउँबासी हर्षित भएका छन्।

प्रकाशित: १० बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...