डिशहोम फाइबरनेटले ल्यायो क्याम्पस वाईफाई सलुसन, यस्ता छन् विशेषताहरु

  • Technology Khabar | १० बैशाख २०७९, शनिबार
डिशहोम फाइबरनेटले ल्यायो क्याम्पस वाईफाई सलुसन, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

पछिल्लो दिनमा आक्रामकरुपमा फाइबर इन्टरनेट सेवा बिस्तारमा लागेको डिशहोम फाइबरनेटले कर्पोरेट तथा धेरैजना प्रयोगकर्ताहरुले एकै पटक प्रयोग गर्न सकिने क्याम्पस वाईफाई सलुसन ल्याएको छ।

कम्पनीले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने नयाँ डिभाइस लन्च गरेको हो। भृकुटीमण्डपमा आयोजना भईरहेको ‘क्यान इन्फोटेक’ को अवसर पारेर डिशहोम फाइबरनेटले शनिबार नयाँ डिभाइस र सेवा शुरु भएको घोषणा गरेको हो।

डिसहोम नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबरनेटको स्टलमा आयोजित कार्यक्रममा क्याम्पस वाईफाई सिक्समा आधारित ह्वावेको वाईफाई क्याम्पस सलुसन राउटर लन्च गरेका हुन्। उनले यस किसिमको प्रविधि नेपालमा भित्र्याउने डिशहोम पहिलो कम्पनी भएको भन्दै यो नयाँ डिभाइसलाई भविश्यको प्रविधिको रुपमा ल्याएको बताए।

“डेढ बर्षको छोटो अवधिमा डिशहोम फाइबरनेटका एक लाख २० हजार ग्राहक पुगिसकेका छन्। लन्च गरिएको नयाँ प्रविधि भविश्यलाई दृष्टिगत गरेर हामीहरुले ल्याएका हौं,” उनले भने।

उनले डीटीएच प्रविधिमा टेलिभिजन सुरु गर्दा पनि आफूहरुले भविश्य हेरेर नै गरेको र सो प्रविधि अहिले लोकप्रिय रहेको उदाहरण दिँदै क्याम्पस वाईफाई सलुसनले कर्पोरेट सेवाहरुलाई अगाडि बढाउन सहयोग पुग्ने बताए।

यस्तो छ क्याम्पस वाईफाई सलुसनको विशेषता

डिशहोमले ल्याएको क्याम्पस वाईफाई सलुसन विशेषगरी धेरै मानिसहरु काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुन्छ।

उच्च क्षमताको यो वायरलेस प्रविधिले एकल नेटवर्कमा विशेष क्षेत्रभित्र सिग्नल फैलाउन सशक्त भूमिका खेल्ने कम्पनीले जानकारी दिएको छ।

क्याम्पस वाईफाई सलुसन्सका लागि आउने एक्सेस प्वाइन्ट डिभाइस (एपी) धेरै प्रकारका हुन्छन्। यो वाईफाई सिक्स प्रविधिमा आधारित भएकाले यसमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजी) पनि हुन्छ । एआईले व्याण्डविथलाई अटो क्याप गरिदिने भएकाले चलिरहेको कुनै वेबसाइट, भिडियो अवरुद्ध हुन पाउँदैन्।

यसले उच्च गतिको इन्टरनेट बिना कुनै समस्या हेर्न सकिन्छ। यसको लेटेन्सी वाईफाई ५ भन्दा ३० प्रतिशत कम हुन्छ।

परम्परागत वाईफाईमा हुने स्थानहरुमा वाईफाईको सिग्नल नपुग्ने, कनेक्ट नहुने, ट्रबुल सुटिङ्गमा समस्या तथा अपरेशनल एण्ड मेन्टेनेन्समा हुने अवरोध लगायतका समस्याहरु क्याम्पस वाईफाई सलुसनले हटाउनेछ।

यसमा सिमलेस रोमिङ हुने भएकाले एउटा राउटरबाट अर्को राउटरमा जाँदा गरिरहेको वाईफाई कलिङ्गमा पनि समस्या आउँदैन्। यसमा इन्टरनेट सेवा अटो स्वीच भएर अटो कनेक्ट हुने कम्पनीका प्राविधिकहरुको भनाई छ।

क्याम्पस वाईफाई सलुसनको सबैभन्दा ठूलो विशेषता भनेको धेरै जनाले एकै पटक वाईफाई चलाउन मिल्नु हो भन्दै उनीहरुले एउटै एपीबाट एक पटकमा दुई सय जनाभन्दा बढीलाई व्यवस्थापन गरेर कनेक्ट गर्न सकिने जानकारी दिए।

परम्परागत सेवा र इन्टरनेटलाई डिजिटाइजेसन गर्न र भविश्यमा सेवाहरुलाई प्रविधिमा आधारित गर्नका लागि नयाँ सलुसन महत्वपूर्ण हुने कम्पनीको भनाई छ। विशेषगरी स्मार्ट बैंकिङ्ग सेवा दिने बैंक तथा वित्तीय संस्थाहरुका लागि उपयुक्त हुने गरी डिभाइस ल्याएको बताएको छ।

कम्पनीले हाल देशभरका प्रमुख शहरहरुमा इन्टरनेट सेवा दिँदै आएको छ।

प्रकाशित: १० बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार