काठमाडौं ।
निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सम्पूर्ण ढुवानी सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ।
आयोगले यहि बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि आवश्यक मतपत्रसहितका सामग्री ढुवानीको सुरक्षाका लागि ढुवानीका साधनमा जीपीएस सिस्टम जडान गरेको र प्रत्यक्ष अनुगमन गरिरहेको जानकारी दिएको छ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार निर्वाचन सामग्री ढुवानी गर्ने सवारी साधनहरुमा जीपीएस ट्रयाकिङ सिस्टम राखिएको बताए।
‘हरेक सवारी साधनमा जिपिएस ट्र्याकिङ्ग सिस्टम जडान गरिएको हुन्छ र निर्वाचन आयोगका कर्मचारीको मोबाइलमा सिस्टम हुन्छ,’ उनले भने, त्यो कहाँ पुग्यो र पुग्नुपर्ने ठाउँमा पुग्यो कि पुगेन भनेर ट्र्याकिङ्ग हुन्छ।
सातै प्रदेशमा निर्वाचन सामग्री ढुवानी गर्न फरक फरक ढुवानी व्यवसायीहरु टेण्डरमार्फत छनोट भएको आयोगले जनाएको छ।
मतपत्र लगायतका सामग्रीहरुको संवेदनशीलतालाई मध्यनजर गर्दै आयोगले मतपत्रको सुरक्षाका लागि नेपाली सेनाले सुरक्षा दिने र गृह मन्त्रालयमार्फत प्रहरीले सुरक्षा गर्ने बताएको छ।
प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार