नौ महिनामा भित्रिए ३४ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल फोन, एक महिनामै झण्डै ४ अर्बको वृद्धि

  • Technology Khabar | ९ बैशाख २०७९, शुक्रबार
नौ महिनामा भित्रिए ३४ अर्ब रुपैयाँभन्दा बढीका मोबाइल फोन, एक महिनामै झण्डै ४ अर्बको वृद्धि
सांकेतिक तस्बिर

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ९ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरका मोबाइल फोन आयात भएका छन्।

यो आँकडा अघिल्लो महिना अर्थात् फागुन मसान्तसम्म ३० अर्ब ९९ करोड २१ लाख रुपैयाँ बराबर थियो।  यसरी हेर्दा १ महिनाको अवधिमा अर्ब ३ अर्ब ९८ करोड ९७ लाख ६८ हजार रुपैयाँ बराबरका मोबाइल फोन थपिएका देखिन्छ।

यो आँकडा पनि पहिलेका महिनामा झैं बार फोन तथा स्मार्टफोन लगायत सेलुलर प्रविधिमा आधारित मोबाइल डिभाइसहरुको समग्र आँकडा भएको प्रतिवेदनमा उल्लेख छ।

मानिसहरुका लागि कोरोना महामारीका बेला सूचना र सञ्चार तथा लेखपढ र कामसम्मको सहयोगीका रुपमा चिनिएको मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको देखिएको छ।

यो क्रम अघिल्ला महिनामा पनि रहेकोमा रकम र सङ्ख्याका आधारमा फागुनदेखि चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा भने उल्लेख्य वृद्धि भएको पाइएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र मसान्तसम्मको आँकडा अनुसार नेपालमा  उक्त रकम बराबरको ५० लाख  ८५९ ओटा विभिन्न खालका मोबाइल फोन भित्रिएका पाइएको हो।

सबैभन्दा बढी चीनबाट – ३९, ३८, ३९८ थान

यीमध्ये सबैभन्दा बढी २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ बराबरको ३९ लाख ३८ हजार ३९८ ओटा मोबाइल फोन चीनबाट आयात पाइएको छ।

यसपछि भारतबाट १२ अर्ब, १५ करोड ७ लाख ५० हजार बराबरको ८ लाख ५९ हजार ६४६ थान, भियतनामबाट १ अर्ब ४९ करोड ७२ लाख १५ हजार बराबरको १ लाख ७२ हजार ६०९ थान, बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँ बराबरको ११ हजार ५१५ थान मोबाइल फोन आयात भएका प्रतिवेदनले देखाएको छ।

यस्तो छ ९ महिनामा आयात भएका मोबाइल फोनको आँकडा:

देशसङ्ख्यारकमदेशसङ्ख्यारकम
चीन३९, ३८, ३९८२०, ६२, ९५, ९६०००अस्ट्रेलिया६७४४, ५६, ७१, ०००
भारत८, ५९, ६४६१२, १५, ०७, ५०, ०००द कोरिया४७८१, ९६, ७४, ०००
भियतनाम१, ७२, ६०९१, ४९, ७१, १५, ०००कतार३००३, १९, ०७, ०००
बंगलादेश११, ५१५१०, ०३, १६, ०००बेलायत१६११,३४,६२,०००
यूएई३, ०९६२४, ३८, ५०, ०००मलेसिया१२२३०, ७९, ०००
अमेरिका२, ३६५१२, १४, ३६, ०००सेन्ट भिन्सेन्ट एन्ड द ग्रेनाडाइन्स७, ०००२७, ३८, ०००
हङकङ१,०२३३, ४०, ४७, ०००साउदी अरेबिया६२५२, २६, ०००
कुवेत२, ०८८४३, ६२, ०००क्यानडा४२२६, ३५, ०००
जापान१, ००६५, ७८, ३६, ०००सिंगापुर४२३३, १७, ०००

यसबाहेक अन्य ४१ देशबाट ३३ लाख १७ हजार देखि २ हजार रुपैयाँसम्मका ५० देखि १ थानसम्म परिमाणका मोबाइल फोन आयात भएका देखिन्छ।

पछिल्लो समय सरकारले विभिन्न विलासी वस्तु आयातमा कडाई गरेको छ।  यसैगरी गत हप्ता नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले मोबाइल, गाडी, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युमलगायत सामाग्री आयातका लागि (एलसी) नखोल्ने अनौपचारिक सहमति गरेका हुन्।

यी सबै सामान विलासिता शीर्षकमा आएका र नेपाल राष्ट्र बैंकसँग भएको छलफलको आधारमा अत्यावश्यक बाहेकका सामग्रीका लागि एलसी नखोल्न भनिएअनुसार नै उक्त सहमति गरिएको बैंकर्स संघले जनाएको छ।

यसरी विलासी वस्तुमा राखिएको तर अत्यधिक प्रयोग हुने मोबाइल फोनको आयातमा रोक लागेपछि केही समयमा बजारमा मोबाइल फोनको उपलब्धता तथा मूल्यमा निकै हलचल आउन सक्ने आकलन गरिएको छ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार