सीसीटिभीमार्फत तीव्र गतिका सवारीसाधन उपर कारबाही सुरु

Technology Khabar ८ बैशाख २०७९, बिहीबार

काठमाडौं ।

मधेस प्रदेशअन्तर्गत पूर्व–पश्चिम लोक राजमार्गमा सीसीटिभी फुटेजमार्फत तीव्र गतिका सवारीसाधन उपर कारबाही सुरु गरिएको छ। मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले सुरु गरिएको हो।

ट्राफिक प्रहरीले थालिएको ‘सवारी दुर्घटना न्यूनीकरण अभियान’अन्तर्गत मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले पथलैया, जिल्ला ट्राफिक प्रहरी सप्तरी, सिरहा, महोत्तरी, र बारा गरी पाँच स्थानमा सीसीटिभी विथ राडार गन डिस्प्ले (राडार गन डिस्प्लेसँग सीसीटिभी) जडान गरिएको छ।

यसै सीसीटिभीको फुटेजमार्फत फागुनदेखि सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को परिच्छेद–३ को नियम १८ उपनियम ५ मा व्यवस्था भएभन्दा बढी गतिका सवारी साधनलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही सुरु गरिएको सो कार्यालयले जनाएको छ।

राडार गन डिस्प्लेसँग सीसीटिभीको माध्यमले बढी गतिका यात्रु बाहक बस, मिनिबस, सुमो, प्राईभेट (निजी) कार जिप, मोटरसाइकल, मालबाहक ट्रक, ट्रिपर, ट्याक्टर गरी ६८६ सवारी साधनउपर कारबाही गरिएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक नान्कीराज गुरुङ्गले जानकारी दिए।

तीव्र गतिका सवारी उपर गरिएको दण्ड जरिवाना कारबाहीबाट चार लाख २७ हजार राजस्व असुली भएको उनले जानकारी दिए।

त्यसैगरी, दुर्घटना न्यूनीकरण गर्न गत साउनदेखि चैतसम्ममा ह्यान्ड हेल्ड राडार गनबाट गरिएको कारबाहीमा तीन हजार ८६० वटा सवारीसाधन परेको छ।

यात्रुबाहक बस, मिनि बस, सुमो ३८४, निजी कार जिप ५०७, मोटरसाइकल दुई हजार ५९२ र मालबाहक ट्रक, ट्रिपर, ट्याक्टर ३७८ गरी कूल तीन हजार ८६० वटा सवारी कारबाहीमा परेको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिनुभयो ।

यसरी नियमविपरीत सवारी चलाउँदा गरिएको कारबाहीबाट ४२ लाख २६ हजार ५०० रुपियाँ राजस्व सङ्कलन भएको उनले बताए। गोरखापत्रअनलाइनबाट

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया