
काठमाडौं ।
टेस्लाका सीईओ इलन मस्क ट्विटरको स्वामित्व लिनका लागि आफ्नै १० देखि १५ अर्ब डलर लगानी गर्न इच्छुक रहेका छन्।
यस मामिलाका जानकार दुई स्रोतहरुलाई उद्धृत गर्दै न्यूयोर्क पोस्टले मंगलबार यो रिपोर्ट प्रकाशित गरेको हो।
केही समयअघि ९.१ प्रतिशत शेयर किनेर कम्पनीको सबैभन्दा ठूलो शेयरधनी भएका मस्कले केही दिनमा कम्पनी किन्ने प्रस्ताव गर्ने र यसका लागि उनले इन्भेस्टमेन्ट बैंकिङ कम्पनी मोर्गन स्ट्यान्लीलाई थप १० अर्ब डलर ऋण उपलब्ध गराउन पनि आग्रह गरिसकेका रोयटर्सले उल्लेख गरेको छ।
न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार टेस्लाका सीईओसमेत रहेका मस्कले आवश्यक परेमा टेस्लाको आफ्नै शेयर बिक्री गर्ने र यसबाट थुप्रै अर्ब डलर संकलन हुने अपेक्षा गरिएको छ।
ट्विटरले भने यसबारेमा टिप्पणी गर्न नचाहेको रोयटर्सको भनाइ छ। यस्तै टेस्लाले पनि यसबारेमा मस्कका तर्फबाट तत्काल कुनै टिप्पणी नगरेको बुझिएको छ।
यसबाहेक थुप्रै निजी संस्थाहरुले ट्विटरको सम्झौतामा सहभागिता जनाउन चासो देखाइरहेका संस्थाको नाम उल्लेख नगरी यस मामिलासम्बद्ध केही व्यक्तिले रोयटर्सलाई बताएका छन्।
प्रकाशित: ८ बैशाख २०७९, बिहीबार