राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको कार्यक्रम तय

  • Technology Khabar | ७ बैशाख २०७९, बुधबार

काठमाडौं ।

विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे ), २०२२ मनाउने निर्णय गरिएको छ। सूचना प्रविधि दिवस यही वैशाख १९ गते मनाइने छ ।

सो दिवस मनाउन गठित प्रचार प्रसार उपसमितिको मङ्गलबार बसेको बैठकले सबै मन्त्रालय तथा मन्त्रालयअन्तर्गतका निकायको वेबसाइटको गृहपृष्ठमा ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२२ भव्यता साथ मनाऔँ’ भन्ने सन्देश प्रवाह गर्ने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

सो उपसमितिका संयोजक एवं सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालको अध्यक्षतामा बसेको बैठकले सो दिवस मनाउने सम्बन्धमा नारा तयार गरी मूल समारोह समितिमा पेस गर्नेनिर्णय गरेको छ ।

त्यसैगरी सरकारी तथा निजी क्षेत्रका आमसञ्चार माध्यमलाई दिवस केन्द्रित रहेर समाचार, आलेख, विशेष संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रम प्रकाशन र प्रसारण गर्ने व्यवस्थाका लागि सूचना तथा प्रसारण विभागलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।दिवसको उपलक्ष्यमा विश्व विद्यालय, विद्यालय तथा शैक्षिक सङ्घ–संस्थामा कविता, निबन्ध, बक्तृत्वकला, प्रदर्शनीलगायतका विविध कार्यक्रम सञ्चालन गराउने व्यवस्थाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी सो दिवससम्बन्धी वृत्तचित्र निर्माण गरी प्रसारणको व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने, सबै प्रदेशलाई सो दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पत्राचारगर्ने व्यवस्थाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको हो।

स्थानीय तहहरूलाई सो दिवस मनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गर्ने व्यवस्थाका लागि सञ्चारतथा सूचना प्रविधि मन्त्रालयलाई अनुरो ध गर्ने निर्णय बैठकले गरेको हो ।

दिवसको नारालाई दूरसञ्चार सेवा प्रदायकमार्फत वैशाख १७, १८ र १९ गते ‘रिङ ब्याक टोन’ को व्यवस्था मिलाउन तथा उक्त नारा वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको हो। गोरखापत्र

प्रकाशित: ७ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार