
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) ले आधुनिक प्रविधिको उच्चत्तम प्रयोग गरेर स्थानीय सरकारलाई प्रविधि मैत्री बनाइने योजनाका साथ आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेको छ।
मंगलबार स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै समाजवादीले स्थानीय सरकारलाई आधुनिक प्रविधि मैत्री बनाउनका लागि विभिन्न कार्यहरु गरिने बताएको छ।
एकीकृत समाजवादीले पालिका भित्रको रैकर जमिन, गुठी जमिन, सार्वजनिक जमिन इत्यादिको लगत तथा भूसूचना प्रणाली विद्युतीय माध्यममा राखिने उल्लेख गरेको छ भने विकास निर्माणका ठेक्का–पट्टामा इबिडिङबाट टेन्डर भर्ने प्रणाली व्यवस्थित गरिने जनाएको छ।
घोषणापत्रमा पालिकाले दिनुपर्ने भुक्तानीलाई पूर्णतः बैंकिङ प्रणालीबाट मात्र गरिने र पालिकाभित्रका यातायातका साधन तथा कर्मचारी परिचालनलाई विद्युतीय माध्यमबाट अनुगमन गरिने उल्लेख छ।
त्यसैगरी पालिकाभित्रका विद्यालयको पठनपाठनलाई प्रविधिको प्रयोगबाट
अनुगमन गर्ने प्रणाली विकसित गरिने जनाएको छ।
स्मार्टफोन र इन्टरनेटले गर्दा मानिसहरूमा गहन अध्ययन गर्ने प्रवृत्ति हराउँदै गएको भन्दै एकीकृत समाजवादीले हरेक पालिकामा आवश्यक उपकरणहरू तथा सुविधा सहितको ‘‘इ लाइब्रेरी’ को स्थापना र सञ्चालन गरिने घोषणापत्रमा उल्लेख छ।
यहि बैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ।
यस्तो छ घोषणा पत्र-
Nekapa_S_Ghosana Patraप्रकाशित: ६ बैशाख २०७९, मंगलवार