काठमाडौं ।
चीनमा कोरोना महामारी बढ्दै जान थालेपछि आर्थिक राजधानी शांघाईमा लगातार लकडाउन हुन थालेको छ।
लकडाउनका कारण सेमिकन्डक्टर चिपको उत्पादन पनि घट्न थालेको छ। यो वर्षको पहिलो त्रैमासमा चीनमा इन्टिग्रेटेड सर्किटको उत्पादनमा ४.२ प्रतिशतले कमी आएको छ।
यो आँकडा सन् २०१९ को सोही अवधिमा आएको ८.७ प्रतिशतको गिरावटपछिको सबैभन्दा खराब पतन भएको भास्कर डटकमले जनाएको छ।
गत मार्चमा सेमिकन्डक्टर चिपको उत्पादन ५.१ प्रतिशत घटेको आँकडा रहेको छ। चीनका विभिन्न अटो तथा विद्युतीय उपकरण/उत्पादन निर्माताले आपूर्ति श्रृङ्खलामा समस्या आएका कारण यस्तो भएको बताएका छन्।
भारतमा अधिकांश सेमिकन्डक्टर तथा इलेक्ट्रोनिक पार्टपुर्जा चीनबाटै आयात गरिने भएकाले यस्ता डिभाइस उत्पादनमा गिरावट आउनुले भारतमा पनि निकै असर पार्ने भास्कर डटकममा उल्लेख छ।
देशमा निर्माण नहुने भएकाले भारतले आफूलाई चाहिने सबै सेमिकन्डक्टर अन्य देशबाट आयात गर्छ जसमा आधाभन्दा बढी चीनबाट नै आउने गर्दछ। यसबाहेक अटोमोबाइल, स्मार्टफोन, इलेक्ट्रोनिक डिभाइस जस्ता थुप्रै क्षेत्रमा प्रयोग हुने विभिन्न पार्टपुर्जा पनि चीनबाटै आउने गर्छ।
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार