
काठमाडौं ।
आर्थिक वर्ष २०७८/७९ को आठौं अर्थात् फागुन महिनाभरी ई-कमर्समार्फत् ३४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु स्थूल आर्थिक प्रतिवेदनमा फागुन महिनामा ई-कमर्समार्फत् भएको कारोबार संख्या ६२ हजार ८१७ उल्लेख गरिएको छ। यो आँकडा अघिल्लो महिना अर्थात् माघको भन्दा ९ हजार ६८६ ले कम हो।
सामान्यतया: कारोबार संख्यामा आएको उतारचढाव अनुसार नै कारोबार रकममा पनि उस्तै तरिकाले घटबढ हुने गर्दछ। तर माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनाको अवधिमा कारोबार सङ्ख्यामा उल्लेख्य गिरावट आए पनि रकम भने झिनो परिमाणमा बढेको पाइएको छ।
प्रतिवेदन अनुसार फागुन महिनामा ई-कमर्सको क्षेत्रमा ३४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ जुन अघिल्लो महिनाको तुलनामा २० लाख रुपैयाँले बढी हो।
अघिल्लो महिना अर्थात् माघ मसान्तसम्मा ३४ करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा एक महिनाको अवधिमा २० लाख रुपैयाँले वृद्धि भएर ३४ करोड ८० लाख पुगेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार