
काठमाडौं ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको नेतृत्वमा गएको संगठनको प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुलाई भेटी आर्थिक बर्ष २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने सुझाव पेश गरेको छ।
सो अवसरमा अध्यक्ष प्याकुरेलले चालू आर्थिक बर्ष २०७८/७९ को बजेटमा उद्योग व्यवसाय क्षेत्रको हितलाई ध्यानमा राखी नेपाल सरकारले समावेश गरेका तर कार्यान्वयनमा नआएका बिषयहरुलाई समेत समेटि तयार पारेको आ.व. २०७९/८० को बजेटमा समावेश गर्नुपर्ने सुझावहरु प्रस्तुत गर्दै प्राथमिकताका साथ कार्यान्वयन ल्याउन अर्थमन्त्री र उद्योग मन्त्रीलाई आग्रह गरेका थिए।
जसअनुसार संस्थाले युवा उद्यमीहरुलाई स्टार्टअप व्यवसाय संलग्न हुन अभिप्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी १ प्रतिशत व्याजदरमा रु २५ लाखसम्म विउ पूँजी उपलब्ध गराउन सरकारलाई सुझाब दिएको छ।
त्यसैगरी स्टार्टअप व्यवसायको दर्ता नविकरण तथा अन्य सेवा एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध गराउने र यसका लागी रु. १ अर्बको च्यालेञ्ज फण्डको व्यवस्था गर्न भनेको छ।
यसका साथै संघले हाल महिला उद्यमशिलता प्रोत्साहनका लागि रु.१५ लाखसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएको अवस्थामा बढ्दो महंगीका कारण वर्तमान समयमा उक्त कर्जा उद्यमशिलता विकासका लागि अत्यन्त न्यून भएकाले महिलाहरुलाई उद्यमशिलता प्रोत्साहन गर्न रकमको सिमा थप गरी रु. १ करोडसम्मको सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने मन्त्री समक्ष आफ्नो भनाई राखेको छ।
त्यसैगरी अन्य सुझाबहरुमा स्वदेशी उद्योगमा आवश्यकता अनुरुपको सीपयुक्त जनशक्तीको विकास गर्ने वातावरण बनाउन र निर्यात अभिवृद्धि गर्ने आयातलाई निरुत्साहन गर्ने लगायतका विषयहरु समावेश छन्।
प्रतिनिधि मण्डललमा अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, ईन्द्र खत्री राजन, पारस लुनिया, पूर्व अध्यक्ष मुकेश उपाध्याय, अध्यक्षका सल्लाहकार सोमनाथ अधिकारी र महानिर्देशक चुडामणि भट्टराईको सहभागिता रहेको थियो।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार