
काठमाडौं ।
गुगलले हालै ल्याएको सिमुलेटरका माध्यमबाट आफैंले क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने भएको छ।
‘डबलस्पीक गेम्ससँगको साझेदारीमा विकास गरिएको यो सिमुलेटर एकपटकमा एक क्युबिटको क्वान्टम कम्प्युटर बनाउनेतर्फको रमाइलो यात्रा हो’, गुगलले भनेको छ।
केही दिन अघिमात्रै विश्व क्वान्टम दिवस परेको र उक्त दिन गुगलले द क्युबिट गेम सार्वजनिक गरेको ९टू५गुगलले उल्लेख गरेको छ।
कम्पनीले उक्त गेम र विश्व क्वान्टम दिवसले यो क्षेत्रमा मानिसहरुको चासो जगाउन केही हदसम्म सहयोग गर्ने विश्वास लिएको छ।
यो गेम क्युबिटमा आधारित रहेको छ जुन क्वान्टम कम्प्युटर बनाउने बिल्डिङ ब्लक हो। यसमार्फत् क्वान्टम कम्प्युटर बनाउन क्वान्टम म्याथ वा फिजिक्स पढिरहनु आवश्यक नभएको इन्ग्याजेटले जनाएको छ।
‘यसमा जति धेरै क्युबिट भयो त्यति नै अप्ठेरो हुँदै जान्छ। अन्त्यमा नयाँ अपग्रेड, सम्पूर्ण ठूलो अनुसन्धान परियोजना फेला पर्ने र यसबाट क्वान्टम कम्प्युटर कसरी बन्छ भन्नेबारेमा पनि मानिसहरुमा चासो जाग्नसक्नेछ,’ गुगल क्वान्टम एजुकेशनका प्रमुख आबे आस्फले लेखेका छन्।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार