
काठमाडौं ।
यातयात व्यवस्था कार्यालय कास्की डिजिटल प्रणालीबाट सेवा दिने तयारीमा जुटेको छ।
पुरानै प्रक्रियाबाट सेवा प्रवाह गर्दा झन्झटिलो र समस्या आएकाले प्रविधिमैत्री बनाउन खोजिएको यातायात कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिजालले बताए। पुरानो शैलीबाट सेवा दिँदा बिचौलियाको मारमा सेवाग्राही परेको उनले बताए। उनले डिजिटल सेवा दिन काम भइरहेको बताए।
रिजालले भने, “डिजिटल प्रणालीमा लैजानका लागि पुराना फाइल स्क्यानिङको काम भइरहेको छ। स्क्यान, फाइल ट्रान्सफर इन्फर्मेसन सिस्टम सफ्टवेयर बनाएर डाटा इन्ट्री गर्ने योजना कार्यालयको छ।”
प्रविधिमैत्री बनाउन कार्यालयमा अहिले पुराना फाइल स्क्यानिङ भइरहेको छ। रिजालका अनुसार अहिले ५६ लाख ६० हजार पेजको स्क्यानिङको काम चलिरहेको छ। उनले वैशाख १५ सम्म डिजिटल प्रविधिमार्फत केही सेवा सुरु गरिने बताए। उनले भने, “सवारी दर्ता र नामसारीको काम वैशाखबाट सुरु हुन्छ । साउनपछि अनलाइनबाट कर तिर्ने व्यवस्था पनि मिलाउने तयारीमा छौँ ।”
यातायात कार्यालय कास्कीमा अहिलेसम्म दुईपाङ्ग्रे दुई लाख १८ हजार र चारपाङ्ग्रे ६८ हजार ओटा सवारी दर्ता भएको कार्यालय प्रमुख रिजालले जानकारी दिए । उनले भने, “दर्ता सवारीको तीन हजार ढड्डा छन् । सवारी दर्ता भएका फाइलको स्क्यानिङको काम सुरु भएको छ ।”
प्रदेश सरकारले यातायातको कामलाई प्रभावकारी बनाउनका लागि बिहान–बेलुका धेरै समय काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने कार्यविधि स्वीकृत भएको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए।
गण्डकीका यातायात कार्यालयमा दैनिक दुई सय सेवाग्राही पुग्छन्। ग्राहकको घुइँचो थेग्न नसकेपछि लाइसेन्स र सवारी दर्ता नवीकरणको कार्यालय छुट्टाछुट्टै बनाइएको छ।
पोखरा, बागलुङ, डुम्रे र नवलपुरबाट यातायात व्यवस्थाको काम हुँदै आएको छ। लमजुङ, पर्वत, स्याङ्जा र गोरखामा सेवा कार्यालय रहेको छ। गोरखापत्रबाट
प्रकाशित: ५ बैशाख २०७९, सोमबार