
काठमाडौं ।
नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अल नेट भ्वाइस प्याक सहितको स्प्रिङ अफर आज सोमबार बैशाख ५ गतेदेखि उपलब्ध गराउने भएको छ।
यसमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ। अबदेखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने छ।
यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० ओटा र १००० ओटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ।
टेलिकमकाअनुसार स्प्रिङ अफर अन्तर्गत ग्राहकहरुको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएका छन् ।
सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् । ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरुको मूल्य अझै कम गरिएको छ।
कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध हुनेछ।
यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरु उपलब्ध हुनेछन् ।
स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।
प्रकाशित: ५ बैशाख २०७९, सोमबार