खोटाङ्गमा टेलिकमको ‘फाइबर टू दी होम’ सेवा

  • Technology Khabar | ५ बैशाख २०७९, सोमबार
खोटाङ्गमा टेलिकमको ‘फाइबर टू दी होम’ सेवा

काठमाडौं ।

नेपाल टेलिकमले खोटाङ्ग जिल्लाको दिक्तेल बजारमा ‘फाइबर टू दी होम’ (घरघरमा फाइवर) सेवा प्रारम्भ गरेको छ। आफ्नो सेवालाई गुणस्तरीय बनाउन र सेवाग्राहीलाई द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा दिक्तेल बजारको तल्लो भेग (बेसक्याम्पभन्दा मुनि)मा उक्त सेवा सञ्चालनमा ल्याइएको हो।

पुरानो प्रविधिको कपर (तामाको तार) प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक इन्टरनेट आउने/जाने समस्याका कारण हैरानी खेप्नुपर्ने अवस्था अन्त्य गर्न फाइबर सेवा सञ्चालनमा ल्याइएको नेपाल टेलिकमको शाखाले जानकारी दिएकोछ।

टेलिकमले झण्डै वर्षदिन लगाएर फलामे पोलमार्फत सेवाग्राहीको घरघरमा फाइबर तार पुर्याएको छ। आगामी वैशाख महिना भित्र दिक्तेल बजारका सबै ग्राहकलाई फाइबर सेवा उपलब्ध गराइने योजना रहेको उक्त शाखाले जनाएको छ।

टेलिकमका सेवाग्राहीले अब ल्यान्डलाइन टेलिफोन, एडिएसएल इन्टरनेट, मोबाइल डाटा प्याकलगायत सेवा द्रुत गतिमा लिन पाउने भएका छन् । पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधिको सेवा दिन सुरु गरिएको टेलिकमले जनाएको छ।

दिक्तेल बजारमा सञ्चालन गरिएको फाइबर सेवा गाईघाटबाट रसुवाघाट हुँदै दिक्तेल ल्याइएको थियो । दिक्तेल बजारमा फाइबर सेवा सञ्चालनमा आएसँगै टेलिकमले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस (इन्टरनेट, टेलिफोन र टेलिभिजन सञ्चालन गर्न प्रयोग हुने उपकरण) वितरण गरिरहेको छ।

तामाको तारमार्फत जडित एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि बढीमा पाँच एमबिपिएस गतिमा मात्र चल्ने भएकामा फाइबर प्रविधि जडान गरेपछि घटीमा आठ एमबिपिएसदेखि ८० एमबिपिएस गतिमा चल्ने जनाइएको छ। इन्टरनेट सेवा प्रभावकारी नहुँदा हैरानी खेप्दै आएका उपभोक्ता द्रुतगतिको फाइबर सेवा सञ्चालन भएपछि हर्षित छन्।

फाइबर सेवा सञ्चालनमा ल्याएसँगै टेलिकमले शुल्कसमेत निर्धारण गरेको छ। आठ एमबिपिएसको इन्टरनेटका लागि रु आठ सय, २५ एमबिपिएसका लागि रु १० हजार ५००, ४० एमबिपिएसका लागि रु १५ हजार ३०० र ८० एमबिपिएसका लागि रु २० हजार ५०० शुल्क निर्धारण गरिएको टेलिकमले जनाएको छ । यसैगरी २५ एमबिपिएसभन्दा बढी क्षमताको सेवा लिने ग्राहकले आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबी डाटा प्याक तथा २५० मिनेट टेलिफोन निःशुल्क प्रयोग गर्न पाउनेछन् । सेवा लिन चाहने ग्राहकले जडान खर्च भने रु ५०० टेलिकमलाई बुझाउनुपर्ने जनाइएको छ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरबाहीले जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका थिए । सेवाग्राहीलाई बिना झन्झट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत सुरु गरे पनि इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार