
काठमाडौं ।
चीनको नयाँ अन्तरिक्ष स्टेशनबाट छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेका छन्। शेन्झौउ-१३ मानवयुक्त अन्तरिक्ष यानका तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो छ महिनाको अन्तरिक्ष स्टेशन मिसन पूरा गरी शनिबार सुरक्षित रूपमा पृथ्वीमा फर्किएका हुन्।
यस मिसनले चीनले आफ्नो अन्तरिक्ष स्टेशनको प्रमुख प्रविधिहरूको प्रमाणीकरण पूरा गरेको र चिनियाँ अन्तरिक्ष यात्रीहरूको कक्षमा अवधिको रेकर्ड पनि कायम गरेको चाइना म्यान्ड स्पेस एजेन्सी (सीएमएसए) ले बताएको सिन्ह्वाले जनाएको छ।
अन्तरिक्ष यात्री झाई झियाङ्ग, वाङ्ग यापिङ्ग र ये गुआङ्गफु बोकेको शेन्झौउ-१३ को रिटर्न क्याप्सुल उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको डोङफेङ अवतरण स्थलमा बिहान बेइजिङ समय ९:५६ मा झरेको थियो।
“शेन्झौउ-१३ मानव मिशन पूर्णरुप सफल थियो,” सीएमएसएले घोषणा गर्यो।
यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिशनमा सफलता हो ।
शेन्झौउ-१३ स्पेसशिप उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अक्टोबर १६, २०२१ मा प्रक्षेपण गरिएको थियो, र पछि स्पेस स्टेशन कोर मोड्युल तियान्हेसँग डक गरिएको थियो।
डकिङ पछि, तीन अन्तरिक्ष यात्रीहरू कोर मोड्युलमा प्रवेश गरे र अन्तरिक्षमा छ महिनाको बसाइ सुरु गरे।
मिशनको समयमा, चालक दलले दुई पटक एक्स्ट्राभेइक्युलर गतिविधिहरू (ईभीएएस) प्रदर्शन गरे। तिनीहरूले धेरै वैज्ञानिक र प्राविधिक प्रयोगहरू सञ्चालन गरे, जसमा म्यानुअल रिमोट सञ्चालन र रोबोटिक हातद्वारा समर्थित मोड्युल स्थानान्तरण लगायत थिए।
तिनीहरूले अन्तरिक्ष यात्रीहरू द्वारा दीर्घकालीन रहन, रिसाइकल र जीवन-समर्थन प्रणाली, अन्तरिक्ष सामग्रीको आपूर्ति, बाह्य गतिविधिहरू र सञ्चालनहरू, र इन-अर्बिट मर्मतसम्भारलाई समर्थन गर्न अन्तरिक्ष स्टेशनको निर्माण र सञ्चालनको लागि महत्त्वपूर्ण प्रविधिहरू प्रमाणित गरेको रिपोर्टमा उल्लेख छ।
चालक दलका सदस्यहरूले अन्तरिक्ष स्टेशनबाट दुईवटा लाइभ क्लासहरू पनि पठाए र विज्ञान लोकप्रियता लगायतका गतिविधिहरूको एक श्रृंखला सञ्चालन गरेका थिए।
प्रकाशित: ३ बैशाख २०७९, शनिबार