
काठमाडौं ।
एक पूर्व अनुसन्धातालाई अमेरिकाले जेल सजाय सुनाएको छ।
एउटा क्रिप्टोकरेन्सी समूहमा अनुसन्धाताका रुपमा ५ वर्ष काम गरेका भर्जिल ग्रिफिथ नामका ती व्यक्तिलाई क्रिप्टोकरेन्सीमार्फत् उत्तर कोरियालाई सहयोग गरेको आरोपमा जेल सजाय सुनाइएको बीबीसीले उल्लेख गरेको छ।
ग्रिफिथमाथि अमेरिकाले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध छल्न क्रिप्टोकरेन्सीको प्रयोगमार्फत् सहयोग गरेको आरोप लगाइएको छ।
ग्रिफिथ यसअघि पनि अमेरिकी कानून उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भइसकेका छन्।
उनले यसअघि इथर क्रिप्टोकरेन्सीको प्रविधिमा केन्द्रित गैर नाफामूलक संस्था इथेरियम फाउन्डेशनमा काम गरेका बीबीसीले जनाएको छ।
हाल सुनाइएको जेल सजाय उजुरीकर्ताले माग गरेको न्यूनतम अवधि रहेको बुझिएको छ। यसबाहेक उनीमाथि १ लाख डलरको जरिबाना पनि तोकिएको छ।
बढीमा २० वर्ष जेल तथा १० लाख डलर जरिबानाको सजाय भोगिरहेका ३९ वर्षीय ग्रिफिथका वकिलले विज्ञप्तिमा भनेका छन्, ‘यो फैसला दु:खलाग्दो भए पनि न्यायाधीशले भर्जिल एक क्षमतावान् व्यक्ति भएको र धेरै कुराको योगदान दिनसक्ने र उत्पादक हिसाबले आफ्नो जीवन बाँच्ने प्रतिबद्धतालाई भने सम्मान गरेका छन्।’
प्रकाशित: १ बैशाख २०७९, बिहीबार