
काठमाडौं ।
भारतमा चेन्नईको आईटी कम्पनी आइडिया २आईटीले आफ्ना १०० कर्मचारीलाई कार उपहार दिएको छ। कर्मचारीको कामबाट सन्तुष्ट भएर कम्पनीले यस्तो निर्णय गरेको हो ।
आइडिया २आईटी (Ideas2IT) का सीईओ गायत्री विवेकानन्दनले १०० कर्मचारीलाई मारुती सुजुकी कार उपहार दिएको भारतीय मिडियाहरुले जनाएका छन्।
एक दशक बढी काम गरेका कर्मचारीलाई उपहार
आइडियाज २आईटीका मार्केटिङ हेड सुब्रमण्यमका अनुसार १० वर्षभन्दा बढी समयदेखि कम्पनीसँग आबद्ध रहेका कर्मचारीलाई यो कार दिइएको हो। यस कम्पनीमा ५ सय कर्मचारी कार्यरत छन् ।
कर्मचारीबाट आर्जन गरेको नाफालाई कर्मचारीमा बाँड्ने प्रयास भएको कम्पनीको भनाई छ।
आइडियाज २आईटीका संस्थापक तथा अध्यक्ष मुरली विवेकानन्दनले कम्पनीलाई राम्रो बनाउन कर्मचारीहरूले धेरै काम गरेको बताए। उनले यो कार कम्पनीबाट नभएर कर्मचारीहरूले आफ्नै मेहनतले कमाएको बताए।
थप उपहारहरू चाँडै दिइने
विवेकानन्दनले भने, ‘सात–आठ वर्षअघि हामीले लक्ष्य हासिल गरेपछि हाम्रो आम्दानीको केही हिस्सा कर्मचारीहरूसँग बाँड्ने प्रतिबद्धता गरेका थियौं। यी कर्मचारीहरूलाई कार दिनु कम्पनीको पहिलो कदम हो। चाँडै नै कम्पनीले भविष्यमा कर्मचारीहरूको लागि थप यस्तै कदम चाल्नेछ।
उपहार पाएपछि कर्मचारीले कम्पनीबाट उपहार पाउनु सधैं राम्रो हुने बताए। कम्पनीले हरेक अवसरमा सुनको सिक्का, आइफोन जस्ता उपहार दिएर खुसी बाँड्ने गरेको बताए।
आइडियाज २आईटीको मुख्य कार्यालय भारतको चेन्नईमा छ। कम्पनी हाई इण्ड ईन्जिनियरिङ उत्पादनहरू निर्माण फर्म हो। कम्पनीको निरन्तर सफलतामा योगदान पुर्याएकोमा आइडियाज २आईटीले १०० कर्मचारीलाई मारुती सुजुकीका १०० ओटा कार उपहार दिएको हो।
कम्पनीले फेसबुक, ब्लूमबर्ग र माइक्रोसफ्टका लागि काम गर्छ।फेसबुक, ब्लुमबर्ग, माइक्रोसफ्ट, ओरेकल, मोटोरोला, रोचे, मेडट्रोनिक र अन्य धेरै कम्पनीहरूमा नवीनतम सफ्टवेयर परियोजनाहरू पुर्याउने काम गर्ने कम्पनीले जनाएको छ।
आइडियाज २आईटीले २००९ मा सिलिकन भ्यालीमा चीफ टेक्नोलोजी अफिसर (सीटीओ) सल्लाहकार फर्मको रूपमा सञ्चालन सुरु गर्यो र शुरुमा ६ इन्जिनियरहरूले आफ्नो डेब्यु गरे। अहिले कम्पनीसँग अमेरिका, मेक्सिको र भारतलगायत धेरै ठाउँमा प्राविधिकहरू छन्।
प्रकाशित: ३० चैत्र २०७८, बुधबार