क्रिप्टो कर लागु हुनेबित्तिकै भारतमा ७२ प्रतिशतले घट्यो क्रिप्टो व्यापार

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
क्रिप्टो कर लागु हुनेबित्तिकै भारतमा ७२ प्रतिशतले घट्यो क्रिप्टो व्यापार

काठमाडौं ।

भारतमा नयाँ क्रिप्टोकरेन्सी कर नियमहरू यस महिना (१ अप्रिल २०२२) देखि लागू भएको छ। यसका साथसाथै, देशमा क्रिप्टोकरेन्सी व्यापार मात्रामा उल्लेखनीय गिरावट आएको छ।

अनुसन्धान फर्म क्रेबाकोका अनुसार, क्वाइनडीएक्सी (CoinDCX) र वाजिरएक्स (WazirX) लगायत देशका लगभग सबै क्रिप्टो एक्सचेन्जहरूमा क्रिप्टो व्यापारको मात्रा घटेको भारतीय मिडियाहरुले जनाएका छन्।

नयाँ कानुनअनुसार क्रिप्टो ट्रेडिङ गर्ने प्रयोगकर्ताले नाफाको ३० प्रतिशत कर तिर्नुपर्नेछ। साथै, एउटा भर्चुअल डिजिटल सम्पत्तिको स्थानान्तरणमा भएको हानि अर्को सम्पत्तिमा भएको लाभबाट पूर्ति गर्न सकिँदैन।

क्रिप्टो करपछि व्यापार घट्यो
प्रतिवेदन अनुसार, वाजिरएक्स, जेबपे, क्वाइनडीएक्सी र बिटबिएनएसमा व्यापार मात्रा क्रमशः ७२ प्रतिशत, ५९ प्रतिशत, ५२ प्रतिशत र ४१ प्रतिशतले घटेको छ। क्रेबाकोका सीईओ र संस्थापक सिद्धार्थ सोगानीले सरकारको नयाँ क्रिप्टो करका कारण यो मात्रा अझै घट्न सक्ने विश्वास व्यक्त गरे।

क्वाइनडेस्कले सोगनीलाई उद्धृत गर्दै भन्यो, “अप्रिल १, २ र ३ बिदाका दिन थिए। त्यसयता भोल्युम निरन्तर ओरालो लागेको छ । यो अझै तल जान सक्छ, तर फेरि माथि जाने सम्भावना कम छ।” उनले थप भने,‘नयाँ करले बजारमा नकारात्मक प्रभाव पारेको स्पष्ट छ। सरकारले यसतर्फ विचार गर्नुपर्छ। क्रिप्टो रोक्ने कुनै उपाय नभएकोले सरकारले प्रविधिलाई अँगाल्नुपर्छ।

भारत सरकारले बजेट २०२२ मा, भर्चुअल डिजिटल सम्पत्ति हस्तान्तरणबाट हुने आयमा कर लगाउने घोषणा गरेको थियो। यस दायरामा क्रिप्टो व्यापार र एनएफटीको व्यापार समावेश छ। घोषणापछि, यो मुद्दा क्रिप्टो उद्योगसंग सम्बन्धित व्यक्तिहरु बीच विवादको विषय भएको छ।

क्रिप्टो खण्डमा प्रतिबन्ध लगाउनुको साटो नियमन गर्ने सरकारको निर्णयको केही विज्ञ र शेयरधनीले प्रशंसा गरेका छन् । यद्यपि, केही अरूहरू विश्वास गर्छन् कि क्रिप्टोबाट नाफामा करको दर केहि कम हुनुपर्छ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार