विद्युत प्राधिकरणले एकै पटक किन्यो २० ओटा ईलेक्ट्रिक कार

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
विद्युत प्राधिकरणले एकै पटक किन्यो २० ओटा ईलेक्ट्रिक कार

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले एकै पटक २० ओटा ईलेक्ट्रिक कारहरु खरिद गरेको छ। इन्धनको मूल्य बढेपछि प्राधिकरणले विद्युतीय गाडी खरिद गरेको जनाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईकाअनुसार डिजल, पेट्रोल र ग्याँस खरिदबाट खर्बाैं रुपियाँ विदेसिन कम गर्दै स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन प्राधिकरणले २० ओटा टाटा नेक्सन इभी कार खरिद गरेको हो।

विद्युत खपतको लक्ष्य राखेसँगै विद्युतीय सवारी र इन्डक्सन चुल्हो प्रयोगलाई बढावा दिएको छ। इन्धनबाट गुड्ने गाडीलाई विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा वृद्धि गर्ने प्राधिकरणको योजना रहेको उनले बताए। एकै पटक धेरै ‌ओटा विद्युतीय सवारी खरिद गर्ने सरकारी निकायमा प्राधिकरण नै पहिलो भएको उनले बताए।

सरकारले विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिएसँगै प्राधिकरण यस अघि पनि विद्युतीय कार खरिद गरिसकेको जनाएको छ। तर अन्य सरकारी कार्यालयहरुमा भने कार्यान्वयन चरणमा आउन सकेको छैन।

डिजल र पेट्रोलको मूल्य अत्याधिक वृद्धि भएपछि भने केही सरकारी निकाय र निजी क्षेत्रले सवारी खरिद र प्रयोग बढाउँदै आएको पाइएको छ। वातावरणमैत्री सवारीलाई स्वदेशमै उत्पादन गर्दै  विद्युतको खपत बढाउन प्रोत्साहन मिलेको प्राधिकरणले जनाएको छ।

सरकारले विद्युतीय सवारीमा लाग्ने करमा सहुलियत दिएसँगै विद्युतीय सवारीको प्रयोग तथा आयात समेत बढ्न थालेको तथ्याङ्क छ । निजी क्षेत्रले मात्र नभएर सरकारी निकायहरूले समेत विद्युतीय सवारीको प्रयोग बढाउन थालेका छन्।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार