
काठमाडौं ।
फेसबुकको मुख्य कम्पनी मेटाले भर्चुअल रियालिटी प्लेटफर्ममा डिजिटल सम्पत्ति तथा अनुभवहरु बिक्री गर्ने टूलहरुको परीक्षण गरिरहेको छ।
कम्पनीले मेटाभर्स सिर्जना गर्ने उद्देश्यले होराइजन वर्ल्ड्स नामको उक्त भर्चुअल रियालिटी प्लेटफर्म तयार पारेको हो।
यी टूलहरु शुरुमा कम्पनीको इमर्सिभ प्लेटफर्मभित्र भर्चुअल कक्षा, गेम तथा फेशन एसेसरी सिर्जना गरिरहेका केही निश्चित यूजरहरुलाई मात्र उपलब्ध गराउने रोयटर्सले उल्लेख गरेको छ।
यी टूल भीआर हेडसेटका माध्यमबाट पहुँच गर्न सकिने मेटाले विज्ञप्तिमा जनाएको छ।
ती निश्चित यूजरले उक्त टूल प्रयोग गरेर आफ्ना एसेसरी बिक्री गर्न तथा वा आफूले बनाएका विशिष्टीकृत डिजिटल स्पेसमा सशुल्क पहुँचको अफर जारी गर्न सक्ने कम्पनीले जनाएको छ।
यसबाहेक मेटाले अमेरिकामा होराइजन वर्ल्डका केही यूजरबिच क्रियटर बोनस प्रोग्राम पनि परीक्षण गरिरहेको रोयटर्सले जनाएको छ। जस अन्तर्गत मेटाले कम्पनीले सार्वजनिक गर्ने नयाँ फिचर प्रयोग गरेर सहभागीलाई मासिक भुक्तानी गर्नेछ।
प्रकाशित: २९ चैत्र २०७८, मंगलवार