
काठमाडौं ।
ल्यापटप र डेस्कटप प्रयोगकर्ताहरू मल्टिटास्किङको समयमा पर्याप्त र्याम नहुँदा समस्यामा पर्छन्। सामान्य भाषामा यसलाई सिस्टम ह्याङ्ग पनि भनिन्छ, जसका कारण धेरै पटक आवश्यक काम अलपत्र पर्छन्।
सामसङले यो समस्या समाधान गर्ने बाटो देखाएको छ। यसले डीडीआर५ र्याम (DDR5 RAM) सलुसन प्रस्तुत गरेको छ, जसले एकल र्याम स्टिकमा ५१२ जीबी डीडीआर५ मेमोरी राख्न सक्छ। सामसङ डीडीआर४ मेमोरीको उद्योगको सबैभन्दा ठूलो आपूर्तिकर्ता पनि हो र अब ल्यापटप र डेस्कटपहरूमा मल्टिटास्किङलाई सहज बनाउन कम्पनीले डीडीआर५ र्यामको विकासमा काम गरिरहेको छ।
यससँग सम्बन्धित भिडियो सामसङले हालसालै आफ्नो युट्युब च्यानलमा अपलोड गरेको छ। यसले डीडीआर ५-७२०० मोड्युल प्रविधिको बारेमा कुरा गर्छ। कम्पनीको लेयर स्ट्याकिङ मेमोरी प्याकिङ प्रविधिलाई यस नयाँ ५१२ जीबी डीडीआर ५ र्याम मोड्युल प्रविधिमा सुधार गरिएको छ। यो प्रविधि नवीनतम डीडीआर ४ मेमोरी मोड्युलहरूमा पनि प्रयोग भइरहेको छ।
सामसङको दाबी छ कि यसको डीडीआर५ प्रविधि अघिल्लो पुस्ताको भन्दा दोब्बर छिटो छ र यसले ६४०० एमबीपीएस भन्दा बढी गति दिन सक्छ। राम्रो परफरमेन्स भएकाले विद्युतमा पनि कुनै असर नपर्ने कम्पनीको भनाइ छ। यसको कारण डीडीआर५ टेक्नोलोजी अघिल्लो पुस्ताको तुलनामा ३० प्रतिशत बढी ऊर्जा कुशल छ। यसरी डीडीआर५ र्यामले कम पावर खपत गर्छ।
कम्पनीले यो र्यामलाई डाटा सेन्टरका साथै स्मार्टफोन र ल्यापटप निर्माताका लागि समेत उपलब्ध गराउने जनाएको छ। प्रयोगकर्ताहरूको लागि, यो ६४ जीबीको शीर्ष क्षमताको साथ आउन सक्छ। यसको बृहत् उत्पादन कहिलेबाट सुरु हुन्छ भन्ने जानकारी दिइएको छैन। यो नयाँ र्याम सन् २०२३ वा २०२४ सम्ममा बजारमा आउने विश्वास गरिएको छ।
प्रकाशित: २८ चैत्र २०७८, सोमबार