
काठमाडौं ।
टेस्ला तथा स्पेसएक्सका मालिक इलन मस्कले भविष्यमा मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्ने दिन आउने बताएका छन्।
यस्तो दिन कहिले र कति समयपछि आउँछ भन्ने यकिन नभए पनि यसो भएको खण्डमा मानिसको शरीर मरेर गए पनि दिमाग भने सधैं ज्यूँदो नै रहने अपेक्षा गर्न सकिन्छ।
मस्कले भनेका छन्, ‘मलाई यो सम्भव छ भन्ने लाग्छ। जुन चिजले हामीलाई अरुभन्दा केही अनौठो बनाएको छ त्यसलाई डाउनलोड गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई छ। तपाईँको आत्मा त्यो शरीरमा नभए पनि यो अवस्था निकै अलग हुनेछ। तर हाम्रा यादहरु तथा व्यक्तित्व संरक्षण गर्ने मामलामा यसो गर्न सम्भव छ।’
उनका अनुसार यस्तो प्रविधि विद्यमान कम्प्यूटर मेमोरीको क्रमिक विकासका रुपमा रहनेछ। हाम्रा सम्झनाहरु मोबाइल-कम्प्युटरमा चित्र तथा भिडियोका रुपमा संग्रहित छन्।
कम्प्युटर तथा फोनले सम्वाद गर्ने हाम्रो क्षमता बढाउँछन् जसमार्फत् हामी केही समय अघिसम्म अनौठा वा असम्भव मानिएका कुराहरु गर्न सक्छौं।
हामीले पहिलेदेखि नै आफ्ना मानव मस्तिष्कलाई कम्प्युटरसँगै विकसित गरिसकेका छौं। मानव चेतनालाई कुनै कृत्रिम शरीरमा डाउनलोड गरेर जीवन लम्ब्याउने परिकल्पना दशकौंदेखि विज्ञानसँग जोडिएका काल्पनिक कथाका भागहरु रहँदै आएका छन्।
सन् १९६४ मा प्रकाशित उपन्यास ‘ड्यून’ मा यस्ता प्राणीहरुलाई ‘साइमेक्स’ भन्ने नाम दिइएको थियो। विशेषज्ञहरुका अनुसार ‘माइंड अपलोडिङ’ प्रवधि एक दिन सम्भव हुन सक्छ। तर यो कहिले हुन्छ भन्ने चाहिँ यकिन छैन।
प्रिन्सटन यूनिभर्सिटीमा मनोविज्ञान तथा तन्त्रिका विज्ञान पढाउने प्राध्यापक माइकल एसए ग्राजियानोले वाल स्ट्रीट जर्नलमा माइन्ड अपलोडिङका लागि दुई प्रविधिको आवश्यकता पर्ने लेखेका छन्।
उनका अनुसार यी दुई प्रविधि कृत्रिम मस्तिष्क तथा व्यक्तिको मस्तिष्क स्क्यान रहेका छन्। यी प्रविधिमार्फत् यसको न्यूरोन कसरी एक-अर्कासँग जोडिएका छन् भन्ने थाहा पाइने भास्कर डटकमले उल्लेख गरेको छ।
ग्राजियानोका अनुसार कृत्रिम मस्तिष्क बनाउनु अपेक्षाकृत रुपमा सजिलो हुन्छ।
मस्कको स्टार्ट-अप न्यूरालिंक ‘ब्रेन-मेशन इन्टरफेस’ विकास गर्ने काममा लागिरहेको छ। मस्कका अनुसार मानिसहरुले कुनै दिन आफ्ना सम्झनाहरुको ब्याकअप राख्न तथा आवश्यक पर्दा प्राप्त गर्न सक्नेछन्।
मस्कको ‘अप्टिमस’ रोबोटको उत्पादन २०२३ बाट
ईलन मस्क हिजोआज एउटा मानवीय रोबोट ‘अप्टिमस’ मा काम गरिरहेका छन्। यसको प्रोटोटाइप यसै वर्षको अन्त्यसम्म बनिसक्ने र २०२३ सम्ममा व्यावसायिक उत्पादन थालिने बुझिएको छ।
यी रोबोटहरु टेस्लाका कार बनाउनका लागि प्रयोगमा ल्याइने कम्पनीलाई उद्धृत गर्दै भास्कर डटकाले जनाएको छ।
तर मस्कले यी रोबोटले टेस्लका कार उत्पादनमा सघाउने मात्र नभई विश्वलाई नै परिवर्तन गरिदिने दावी गरेका छन्।
यसको प्रयोग व्यक्तिगत जिन्दगीमा पनि गर्न सकिने उनको भनाइ छ। यी रोबोटले मानिसहरुले गर्न नसक्ने कामहरु पनि गर्न सक्ने मस्कको दावी छ।
प्रकाशित: २८ चैत्र २०७८, सोमबार