
काठमाडौं ।
स्पेसएक्सका सीईओ इलन मस्क ट्विटरको बोर्डमा नबस्ने भएका छन्।
केही दिनअघि मात्रै ट्विटरको ९.२ प्रतिशत शेयर किनेर सर्वाधिक ठूलो शेयरधनीका रुपमा बोर्डमा राखिएका मस्कले अब बोर्डमा नबस्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
बीबीसीले कम्पनीका सीईओ पराग अग्रवाललाई उद्धृत गर्दै मस्कले शनिबार बोर्ड सदस्यका रुपमा पदभार ग्रहण गर्नुपर्ने तय भएको उल्लेख गरेको छ।
अग्रवालले ट्वीटमा लेखेका छन्, ‘इलनले त्यही बिहान (शनिबार) आफू ट्विटरको बोर्डमा नबस्ने जानकारी शेयर गरेका थिए।’
अग्रवालले टेस्लाका सीईओ ट्विटरको सबैभन्दा ठूला शेयरहोल्डर रहने र संस्थामा उनका विचारहरुलाई सधैं स्वागत गरिने पनि उल्लेख गरेका छन्।
अग्रवालको यो जानकारीको एक घण्टापछि मस्कले एउटा ईमोजी ट्वीट गर्दै त्यसलाई डिलिट पनि गरेका बीबीसीले जनाएको छ।
प्रकाशित: २८ चैत्र २०७८, सोमबार