‘कृषिपथ’ एपमार्फत एक करोड रुपैयाँको कारोबार

  • Technology Khabar | २८ चैत्र २०७८, सोमबार

काठमाडौं ।

लुम्बिनी प्रदेशका कृषकलाई लक्षित गरी सुरु गरिएको ‘कृषिपथ’ एपमार्फत एक वर्षमा एक करोड १० लाख रुपैयाँको कारोबार भएको छ।

कृषि बीउ बिजन र कृषि सामग्रीको मूल्य, उत्पादन, सेवा तथा सामग्री खरिद, मौसम पूर्वानुमान, कृषि उत्पादनको मूल्य, कृषि हाटबजारलगायतका सूचना जानकारी दिने यो एपमा एक हजारभन्दा बढी कृषक जोडिएका छन्।

घरेलु तथा साना उद्योग महासङ्घ, बाँकेका महासचिव जीआर भुसालले किसान, व्यापारी र उपभोक्तालाई एउटै एप्लिकेसनमा जोड्ने गरी ‘कृषि पथ’ निर्माण गरिएको जानकारी दिए। इन्टरनेटको पहुँचमा नभएकालाई लक्षित गरेर टोल फ्रि नम्बरसमेत सञ्चालन गरिएको उनले बताए।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बुटवलको समन्वय र बाँकेको आयोजनामा बुटवलमा भएको कृषिपथ मोबाइल एपसम्बन्धी अन्तक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले कृषि उत्पादन बढाउन नसकिए आयात अझै बढ्दै जाने बताए। उनले मुलुकको आर्थिक अवस्था चर्चा गरिएको जस्तो गम्भीर नभएको बताउँदै तर सतर्कता अपनाउनुपर्ने र कृषि उत्पादन बढाएर आयातलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।

यो एपका माध्यमबाट कृषकले कृषि क्यालेन्डर, कृषि मौसम बिज्ञान परामर्स सेवा, कृषि प्रबिधि ज्ञान, कृषि अनलाइन बजार केन्द्र, एग्रोभेट तथा कृषि सामग्री बिक्री केन्द्र, कृषि उत्पादनको बिक्री मूल्य सुची, बीउ बिजन र कृषि सामग्रीको बिक्री मुल्य सुची, कृषि उपज र सामाग्रीको खरिद बिक्री गर्न सक्ने बताईएको छ। गोरखापत्रबाट

प्रकाशित: २८ चैत्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया