
काठमाडौं ।
भारतमा दिल्ली सरकारले विद्युतीय साइकल खरिद गर्नेलाई अनुदान दिने योजना घोषणा गरेको छ। यस योजनाअन्तर्गत विद्युतीय साइकल (ई–साइकल) खरिद गर्ने पहिलो १० हजार ग्राहकलाई भारु ५ हजार ५ सय अनुदान दिइने भएको छ।
योजनाअनुसार विद्युतीय बाइसाइकल खरिद गर्ने पहिलो हजार ग्राहकले थप २ हजार भारतीय रुपैयाँ अनुदान पाउनेछन् । यसका साथै हेभी ड्युटी इलेक्ट्रिक साइकल र कमर्सियल ई–कार्टमा पनि अनुदानको घोषणा गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
दिल्ली सरकारका यातायात मन्त्री कैलाश गहलोतले ईलेक्ट्रिक साइकल, हेभी ड्युटी ईलेक्ट्रिक साइकल र ई-कार्ट ईलेक्ट्रिक साइकलमा सरकारी अनुदान दिने घोषणा गरेका छन्। विद्युतीय साइकल खरिद गर्ने पहिलो १० हजार ग्राहकले यो अनुदान योजनाको लाभ पाउने यातायात मन्त्रीले बताए।
ई–कार्गो र हेभी ड्युटी इ–साइकलमा उपलब्ध अनुदानको कुरा गर्दा कार्गो ई–साइकल खरिद गर्ने पहिलो ५ हजार ग्राहकले १५ हजार भारतीय रुपैयाँ अनुदान पाउनेछन् ।
ई-कार्ट वा हेभी ड्युटी साइकल खरिद गर्ने व्यक्तिगत खरिदकर्ताहरूले पहिले यो अफर पाउँदै आएका थिए तर अब कम्पनी वा कर्पोरेट हाउसहरूले पनि यो अफरको फाइदा लिन सक्नेछन्। कर्पोरेट वा कम्पनीले ई–कार्ट खरिदमा ३० हजार भारु अनुदान पाउनेछन्।
यस योजनाको फाइदा लिनको लागि, प्रयोगकर्ताहरू दिल्लीका बासिन्दा हुनु आवश्यक छ। अर्थात्, दिल्लीको निवासी प्रमाण भएका व्यक्तिहरूले मात्र यो योजनाको फाइदा लिन सक्छन्।
यातायात मन्त्रीले बताएअनुसार हाल दिल्लीको सडकमा कूल ४५,९०० विद्युतीय सवारी साधनहरू गुडिरहेका छन्, जसमध्ये ३६ प्रतिशत सवारी साधन दुईपाङ्ग्रे छन्। योसँगै दिल्लीमा विद्युतीय सवारी दर्ताको संख्या १२ प्रतिशत पुगेको छ।
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार