
काठमाडौं ।
चिनियाँ कम्पनी टेन्सेन्टले आफ्नो भिडियो गेम स्ट्रिमिङ प्लेटफर्म बन्द गर्ने भएको छ।
यो निर्णय बेइजिङले चिनियाँ इन्टरनेट जायन्टलाई यो क्षेत्रकै मुख्य गेमिङ प्लेटफर्ममा रुपान्तरण गर्न सक्ने विशाल मर्जरलाई रद्द गरिदिएको महिनौंपछि आएको हो।
टेन्सेन्टले आफ्नो व्यावसायिक रणनीतिमा परिवर्तन आएको जनाउँदै पेनगुइन एस्पोर्ट्स नामक सेवा आगामी जुन ७ बाट बन्द हुने बताएको छ।
अमेजनको ट्विचले झैं टेन्सेन्टको पेनगुइन एस्पोर्ट्सले पेशेवर गेमिङ प्रतिस्पर्धाहरु तथा अन्य भिडियो गेमसम्बन्धी सामग्री लाइभस्ट्रिम गर्ने गर्दछ।
टेन्सेन्ट विश्वकै सबैभन्दा ठूलो अनलाइन गेमिङ कम्पनी हो र यसले राजस्व वृद्धि गर्ने उद्देश्यले आफूलाई एस्पोर्ट्स अर्थात् पेशेवर गेमिङतर्फ मोडिरहेको सीएनबीसीले उल्लेख गरेको छ।
चिनियाँ नियामकले एउटा मुख्य मर्जर रोकिदिएपछि आएको पछिल्लो निर्णय कम्पनीको यो महत्वाकांक्षामा भने तुषारापात गरेको बुझिएको छ।
सन् २०२० मा टेन्सेन्टले आफ्नो शेयर रहेका दुई ओटा लाइभ गेम स्ट्रिमिङ कम्पनी हुया र डुयुसँग मर्जरको प्रस्ताव गरेको थियो।
यसो हुन सकेको खण्डमा त्यतिबेल कम्पनीको मूल्य ६ अर्ब डलर हुने र टेन्सेन्टले आफू अन्तर्गतको पेनगुइन एस्पोर्ट्सलाई पनि यसमै सामेल गराउन खोजेको सीएनबीसीमा उल्लेख छ।
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार