एमालेले निर्वाचन आयोगलाई सोध्यो- वेबपेज र सामाजिक सञ्जालमा अंकुश लगाउनु कसरी उपयुक्त ?

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
एमालेले निर्वाचन आयोगलाई सोध्यो- वेबपेज र सामाजिक सञ्जालमा अंकुश लगाउनु कसरी उपयुक्त ?

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निर्वाचन आचारसंहिताको बारेमा आफ्नो असहमति निर्वाचन आयोगमा लिखित रूपमा राखेको छ। एमालेले विशेषगरी निर्वाचनको क्रममा गरिने प्रचार प्रसारको लागि सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगको बारेमा आफ्नो स्पष्ट धारणा र असहमति जाहेर गरेको हो।

एमाले महासचिव शंकर पोखरेलले बैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी गरिएको आचारसंहितामा पार्टीको तर्फबाट असहमति पत्र बुझाएका हुन्।

एमालेको असहमतिअुनसार आचारसंहिताको दफा ४ (थ) मा रहेको निर्वाचनलाई प्रभाव  पार्नेगरी विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक संजालमा प्रकाशन वा शेयर गर्न रोक लगाउने विषयले दलहरुलाई विचार तथा अभिव्यक्ति गर्न र मत माग्न निषेध गरेको उल्लेख छ।

त्यसैगरी एमालेले सामाजिक संजाल र मेसेजिङ्ग सेवाहरु फेसबुक, ट्विटर, भाइबर, इमो, वीच्याट, युटुयुबलगायतका प्लेटफर्मबाट दल वा उम्मेदवारको बारेमा प्रचार प्रसार गर्न नहुने भन्ने नियम कहिलेबाट लागु हुने भन्ने प्रस्ट नभएको भन्दै यदि यस्तो व्यवस्था तत्काल लागू भएको खण्डमा सो विचार तथा अभिव्यक्ति विरुद्ध हुने र संविधान प्रतिकुल हुने आयोगलाई बताएको छ।

यसका साथै भित्ते लेखन र पर्चा पम्प्लेटमा रोक लगाउँदा वेबसाइट र मोबाइल एप तथा सामाजिक संजालहरु मत माग्ने र प्रचार गर्न सकिने उपयुक्त वैकल्पिक माध्यम भएको बताएको छ। आधिकारीक वेबपेजबाट गरिएको प्रचार प्रसारको अनुगमन र आचारसंहिता कार्यान्वयन बढि भरपर्दो हुने भन्दै त्यसमा अंकुश लगाउने प्रावधान राखिनु कसरी उपयुक्त हुन्छ भन्ने प्रश्न गरेको छ।

एमालेले बुझाएको पत्रका बारेमा आयोगलमा छलफल भईरहेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्याल*ले बताएका छन्।

*नाम फरक परेकोमा क्षमा प्रार्थी छौं।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...