
काठमाडौं ।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सेयरधनीहरुलाई पहिलो पटक आर्थिक वर्ष २०७७/०८७ को मुनाफाबाट २० प्रतिशत दिन लागेको बोनस शेयर लगानीकर्ताहरुलाई थप प्रतिफल दिनका लागि भएको जनाएको छ।
कम्पनीका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७७/०८७ को मुनाफाबाट २० प्रतिशत बोनस दिने प्रस्ताव गरिएको बताएका हुन्।
उनले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताए। उनले अनलाईन पेमेन्ट गर्ने सरकारको कार्यक्रम अनुसारको तयारीको कामलाई पनि केन्द्रित गरिएको बताए।
अध्यक्ष अर्यालले जानकारी दिएअनुसार सो आर्थिक वर्षमा नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ।
त्यसैगरी कम्पनीले अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आवद्धता सेवाबाट ५ अर्ब ८० करोड, वायरलेस सेवाबाट ३ अर्ब ३३ करोड अन्य विभिन्न कार्यक्रमबाट गरी कूल राजस्व खुद नाफा ४२ अर्ब २१ करोड संकलन गरी ७ अर्ब १३ करोड नाफा कायम गर्न कम्पनी सफल भएको हो।
कोभिड १९ को कारणले भ्वाईस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरुले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको उनले बताए।
कम्पनीले २० प्रतिशत नगद र २० प्रतिशत बोनससहित कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
यसअघि सरकारी कम्पनीले अनावश्यकरुपमा बोनस शेयर दिन लागेको भन्दै विवाद उत्पन्न भएको थियो।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार