
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ। सरकारले गठन गरेको सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालको संयोजकत्वमा रहेको सिफारिस तथा छनोट समितिले आज बुधबार नै ३ जनाको नाम सिफारिस गरेको मन्त्रालय स्रोतले दाबी गरेको छ।
मन्त्रालय स्रोतकाअनुसार सिफारिस परेकामा सुनिल पौडेलसहित संगीता पहाडी अर्याल तथा सुरज सिंह थापा रहेका छन्।
“मन्त्रालयले पौडेलसहित ३ जनाको नाम सिफारिस गरेको छ। र सोहि आधारमा प्रकृयाअनुसार सरकारले बिहिबार नियुक्ति गर्नेछ,” मन्त्रालय स्रोतले दाबी गर्यो।
पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक छन् भने पहाडी र थापा नेपाल टेलिकमकै उच्च पदमा कार्यरत छन्। पहाडीको नाम यसअघिका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई नियुक्त गर्दा समेत सिफारिस सूचीमा परेको थियो।
तर मन्त्रालयका एक उच्च अधिकारीले भने सो विषयमा आफू अझै स्पष्ट नभएको जानकारी दिए।
नेपाल टेलिकममा नाम सिफारिस गरेको हो ? भन्ने प्रश्नको जवाफमा उनले भने, “मैले तपाईँले भनेअनुसार कै नाम सिफारिस भएको सुनेको छु। तर भोली (बिहिबार) मात्रै स्पष्ट भन्न सक्दछु।”
सञ्चार मन्त्रालयकै अर्का एक अधिकारीले पौडेलसहितको नामहरु सिफारिसमा परेपनि पछिल्लो दिनमा पौडेलको नाम निकै विवादमा आएको हुँदा नियुक्ति कस्को हुन्छ भनेर भन्न नसकिने दाबी गरे।
“पछिल्लो समय मिडियामा पौडेलको बारेमा धेरै नेगेटिभ समाचार आएका छन्। हिजो पनि मन्त्रालयमा कर्मचारी युनियनकै पदाधिकारीहरु आएर विरोध गरेका थिए। मन्त्रालय पनि दबाबमा छ त्यसैले नियुक्तिको बारेमा केहि भन्न सकिने अवस्था छैन्,” उनले भने।
संभवत बिहिबार बस्ने मन्त्रिपरिषद बैठकले नै नेपाल टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति गर्नसक्ने संभावना छ।
“स्थानीय चुनावको आचार संहिताका कारण यसै साता नै नयाँ एमडी आउनेछन्,” मन्त्रालय स्रोतले भन्यो।
यो पनि हेर्नुस्-
टेलिकम भित्रकै व्यक्तिलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित
प्रकाशित: २३ चैत्र २०७८, बुधबार