सामाजिक सञ्जालको दुरुपयोग रोक्ने कार्ययोजना बनाउन निर्वाचन आयोगको गृहलाई निर्देशन

  • Technology Khabar | २२ चैत्र २०७८, मंगलवार
सामाजिक सञ्जालको दुरुपयोग रोक्ने कार्ययोजना बनाउन निर्वाचन आयोगको गृहलाई निर्देशन

काठमाडौं ।

निर्वाचन आयोगले गृह मन्त्रालयलाई सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी र अनुगमनको पाटोबारे कार्ययोजना बनाउन निर्देशन दिएको छ।

आयुक्त ईश्वरीप्रसाद पौड्यालले उच्च स्तरीय निर्वाचन सुुरक्षा समन्वय समितिको बैठकमा गृह मन्त्रालयलाई उक्त निर्देशन दिएका हुन् ।

बैठकमा गृह सचिव टेकनारायण पाण्डेले एकीकृत सुरक्षा योजनाबारे जानकारी गराएका गृह मन्त्रालयका प्रवक्ता एवं सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेलले बताए ।

गृह सचिवले एकीकृत सुरक्षा योजना लागू भइसकेको र त्यस सम्बन्धमा नियमित विश्लेषण भइरहने जानकारी गराएका थिए।

आयुक्त पौडेलले चुनावमा सामाजिक सञ्जालको दुुरुपयोग रोक्ने उपाय सम्बन्धमा के कस्तो तयारी रहेको जिज्ञासा राखेको र दुरुपयोग हुन नदिन आवश्यक संयन्त्र बनाउन निर्देशन दिएको गृह प्रवक्ता पोखरेलले बताए।

गृह सचिव पाण्डेले उक्त विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग समन्वय गर्ने बताएका थिए ।

आयोगले तोकेको आयुक्त संयोजक रहने उच्च स्तरीय समितिमा गृह, रक्षा, निर्वाचन आयोगका सचिव तथा प्रधानसेनापतिले तोकेको नेपाली सेनाको रथी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक र आयोगको प्रशासन महाशाखाका सहसचिव सदस्य सचिव रहने व्यवस्था छ। गोरखापत्रबाट

प्रकाशित: २२ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...