
काठमाडौं ।
बंगलादेशका फोन कम्पनीहरूले थप स्पेक्ट्रम प्राप्त गर्न गत बिहीबार १.२४ अर्ब अमेरिकी डलरको बोली लगाएका छन्। लगभग १८ करोड १० लाख ग्राहकहरूलाई सेवा प्रदान गर्ने नेटवर्कहरूको दौडमा प्रतिस्पर्धी रहन थप स्पेक्ट्रम प्राप्त गर्नु आवश्यक भएसँगै उनीहरुले नयाँ स्पेक्ट्रम खरिद गरेका हुन्।
दक्षिण एसियाली देशका चार शीर्ष अपरेटरहरू ग्रामीनफोन, रोबी, बंगलालिङ्क र टेलिटकले करिब १ अर्ब २४ करोड अमेरिकी डलरमा १९० मेगाहर्ज स्पेक्ट्रम प्राप्त गरेको सिन्ह्वाले रिपोर्टमा उल्लेख गरेको छ।
बंगलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले राजधानी ढाकामा लिलामी आयोजना गर्यो, जसमा देशका हुलाक तथा दूरसञ्चार मन्त्री मुस्तफा जब्बार पनि सहभागी थिए।
एक घण्टा लामो लिलामी बिहीबार बिहान सम्पन्न भएको थियो। यसले २,३०० ब्यान्डहरूमा १०० मेगाहर्ज र २,६०० ब्यान्डहरूमा १२० मेगाहर्ज स्पेक्ट्रमको अक्सन गर्यो र दुवै ब्यान्डहरूको आधार मूल्य प्रति मेगाहर्ज ६० लाख अमेरिकी डलर थियो।
देशका शीर्ष दुई सेलफोन अपरेटरहरू ग्रामीनफोन र रोबी प्रत्येकले २,६०० मेगाहर्ज ब्यान्डमा ६० मेगाहर्ज स्पेक्ट्रम प्राप्त गरेका थिए। तेस्रो ठूलो टेलिकम अपरेटर बंगलालिंक र सरकारी स्वामित्वको टेलिटकले २,३०० ब्यान्डमा क्रमशः ४० मेगाहर्ज र ३० मेगाहर्ज प्राप्त गरेको रिपोर्टमा उल्लेख छ।
स्पेक्ट्रम शुल्कबाहेक अपरेटरहरुले १५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि तिर्नुपर्नेछ।
ग्रामीनफोनका प्रमुख कार्यकारी अधिकृत यासिर अजमानले यस लिलामी मार्फत बंगलादेश सरकारले “डिजिटल बंगलादेश” लाई साकार पार्न अर्को कदम चालेको बताए।
उनले भने, “ग्रामीनफोनले अधिकतम स्वीकार्य ६० मेगाहर्ज स्पेक्ट्रमको अधिग्रहणले देशभरका मानिसहरूका लागि डिजिटल सम्भावनाहरू सिर्जना गर्ने हाम्रो दृढ प्रतिबद्धता झल्काउँछ।”
लिलामीमा आफ्नो समापन टिप्पणीमा, बंगलादेशी मन्त्री जब्बारले मोबाइल फोन अपरेटरहरूलाई नयाँ रेडियो-फ्रिक्वेन्सी बितरणले देशमा ४जी र ५जी मोबाइल सेवाहरूलाई बलियो बनाउन मद्दत गर्ने आशा व्यक्त गरे।
मन्त्रीले भने, “हामीले हाम्रो छिमेकी चीनबाट फाइभजी एपको अधिकतम फाइदा कसरी लिने भन्ने सिकिरहेका छौं।”
बंगलादेशी प्रधानमन्त्रीका आईसीटी मामिला सल्लाहकार सजिब वाजेद जोयले गत वर्ष डिसेम्बरमा चिनियाँ टेलिकम कम्पनी ह्वावेसँगको सहकार्यमा सरकारी सेलफोन अपरेटर टेलिटकमार्फत देशमा ५जी वा पाँचौं पुस्ताको मोबाइल सेवाको उद्घाटन गरेका थिए।
अर्को पुस्ताका सेवाहरू सुरु भएसँगै देशका विभिन्न भागका चुनिएका स्थानहरूमा रहेका मोबाइल प्रयोगकर्ताहरूले तुलनात्मक रूपमा कम मूल्यमा आफ्ना मोबाइल फोनहरूमार्फत उच्च-गतिको ५जी इन्टरनेट पहुँच गर्न सक्नेछन्।
प्रकाशित: २१ चैत्र २०७८, सोमबार