

काठमाडौं ।
ध्वनि तरंगको गति मंगल ग्रहमा पृथ्वीभन्दा सुस्त हुने पत्ता लागेको छ।
हालै नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहमा रेकर्ड गरेको ध्वनिको नमूना अनुसार ध्वनि तरंगको व्यवहार मंगल ग्रहमा फरक खालको पाइएको नासालाई उद्धृत गर्दै ग्याजेट्स ३६० ले जनाएको छ।
मंगल ग्रहमा ध्वनि तरंग पृथ्वीको तुलनामा निकै सुस्त हुने उक्त अध्ययनले देखाएको छ। यस बाहेक ध्वनि तरंगले निकै फरक तरिकाको व्यवहार देखाएको र उक्त प्रवृत्ति मंगल ग्रहमा मानव बस्ती बसेपछि सञ्चार प्लेटफर्म तयार गर्न बाधक वा चुनौतीपूर्ण हुन सक्ने देखिएको समाचारमा उल्लेख छ।
तर ध्वनिको गति सामान्यतया: ध्वनि यात्रा गर्ने वातावरणको घनत्वमा निर्भर गर्ने भएकाले मंगल ग्रहमा यसको गति सुस्त हुनु सामान्य रहेको बुझिएको छ।
मंगल ग्रहको वातावरण पृथ्वीको भन्दा पातलो हुने भएकाले ध्वनि तरंगको गति सुस्त हुने पनि बताइएको छ।
ध्वनि पृथ्वीमा सामान्यतया: ३४३ मिटर प्रतिसेकेन्डका दरले यात्रा गर्दछ तर केही अध्ययनहरुले नी तरंग अझ घना पानीको माध्यमबाट १ हजार ४८० मिटर प्रति सेकेन्डका दरले यात्रा गर्ने देखाएका ग्याजेट्स ३६० ले उल्लेख गरेको छ।
यस हिसाबले ती ध्वनि तरंगले घना माध्यममा पुगेपछि आफ्नो गति बढाउने र पातलो माध्यममा गति घटाउने गर्दछन्। मंगल ग्रहको वातावरण पृथ्वीको तुलनामा १०० गुणा पातलो रहेको र अधिकांश रुपमा कार्बनडाइ अक्साइडले बनेको बुझिएको छ।
प्रकाशित: २१ चैत्र २०७८, सोमबार