
काठमाडौं ।
भक्तपुर नगरपालिकाले इन्टरनेट सेवा प्रदायकहरुको तारले फोहोर गरेको र सो सफा गरेबापत लागेको रकम भुक्तानी गर्न चेतावनी दिएको छ।
नगरपालिकाको कार्यालयले चैत १३ गते विभिन्न सेवा प्रदायकहरुलाई कारबाही गर्ने चेतावनीसहित मुद्दा दर्ता गरी पत्र पठाएर उपस्थित हुन भनेको हो।
नगरपालिकाका कानून उपनिर्देशक गणेश लाल फोजुले पठाएको पत्रमा विभिन्न सेवा प्रदायकहरुको केबुल लाइन र इन्टरनेट लाइनहरु चैत ९ गते महालक्ष्मी नगरकोट सडक खण्डमा गाडीले तार तानेर चुँडाएको हुँदा विद्युतको पोलमा रहेको केबुल तारहरु र इन्टरनेटको तारहरु चुँडिएकोमा नयाँ राख्दा पुरानो तारहरु सफा नगरेको आरोप लगाएको छ।
जसमा चुडिएका तारहरु बाटोमा त्यत्तिकै छोडेर फोहर गरेर गएकोले नगरपालिकाले १ टिप तारहरु आफ्नै खर्चमा फालेको भन्दै त्यसमा कारबाही गर्ने भनिएको हो।
वडा निरिक्षकको प्रतिवेदनलाई आधार मान्दै नगरपालिकाले स्थानीस सरकार संचालन ऐन २०७४ विपरीत कार्य गरेकोमा कारबाही गर्न वडा निरीक्षकले माग गरेकोमा सो बारेमा उपस्थित हुन भनेको छ।
सेवा प्रदायकहरु उपस्थित नभएको खण्डमा ऐन बमोजिम कारबाही हुने समेत सूचित गरेको छ।
त्यसरी तारहरु छोडेर जाने सेवा प्रदायकहरुमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड, भायनेट कम्युनिकेसन्स प्रालि, सुबिसु केबलनेट लिमिटेड, क्लासिक टेक प्रालि, एरोनेट प्रालि, नेट म्याक्स, ॐ साई नेटवर्क र भादगाउँ टेलिभिजन रहेका छन्।
तर नगरपालिकाले के कारबाहीको निर्णय गर्यो भन्ने जानकारीमा आएको छैन्।

प्रकाशित: १८ चैत्र २०७८, शुक्रबार