
काठमाडौं ।
नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ। कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो।
नेपाल उद्योग वाणिज्य महासंघ, महासंघको सदस्य रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरवारमार्ग विकास बोर्डले एनसेलसँग महासंघको विषेश सहकार्य अन्तर्गत यो महोत्सव संयुक्तरूपमा वैशाख ३ शनिबार आयोजना गर्न लागेको हो ।
आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताईएको छ। महोत्सवलाई नेपाली नयाँ वर्षको अवसरमा वार्षिक कार्यक्रमका रुपमा हरेक वर्ष आयोजना गरिने छ।
यो महोत्सवमा सम्पूर्णरुपमा नेपाली कला संस्कृति झल्कने प्रस्तुती गरिने छ। वैशाख ३ गते विहान १०ः०० बजे सातै प्रदेशको सँस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृतिहरुको प्रस्तुती गरिेने छ। दरवारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नाराणहिटी संग्राहलयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ।
महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो संदेशमा थलिएको पर्यटन उद्योगलाई यसले राहत दिने बताए। राजधानीमा हुने यो कार्यक्रमले देशैभर निकै ठूलो संदेश जाने आशा समेत उनले गरेका छन्।
यस महोत्सवको लागि महासंघसँग भएको सहकार्यका बारेमा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “कोभिड महामारीको कारण विश्व पर्यटन क्षेत्रले ठूलो चुनौतीको सामना गरिरहेको छ र अर्थतन्त्रमा पर्यटन एक प्रमुख आधार रहेको हाम्रो नेपाल पनि यो समस्याबाट अछुतो छैन । आन्तरिक पर्यटन, लघु, घरेलु, साना तथा माझौला उद्यमलाई प्रवद्र्धन गर्दै पुनरूत्थानमा सहयोग पुर्याउन महासंघसंग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं ।”
महोत्सवको सोही दिन विहान ११ः३० बजे औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ।
कार्यक्रमको मुख्य आकर्षणको रुपमा महोत्सव अवधिभर विभिन्न नेपाली खानाको परिकारहरु र नेपाली उत्पादनहरुको स्टल प्राथमिकताका साथ राखी विशेष प्रस्तुति र प्रदर्शन समेत गरिने छ। महोत्सव स्थलमा ६० वटा स्टल रहनेछन् । महोत्सव क्षेत्रमा वालवालिकाका लागि छुट्टै प्ष्मक श्यलभ काृ व्यवस्था गरिएको छ। महोत्सवमा हुने स्टलहरु मध्ये केही स्टलहरुमा शारिरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्ताकलाका वस्तुहरुलाई पनि प्रदर्शनीमा राखिने छ।
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिडबाट शिथिल भएको व्यापार व्यवसायमा अति प्रभावित क्षेत्रमा साना मझौला उद्यम तथा पर्यटन उद्योग छ। हाल ९० प्रतिशत बढि जनसंख्याले कोभिड विरुद्धको खोप लगाई सकेको र जनजीवन सामान्य हुंदै गएको अवस्थामा आर्थिक क्रियाकलापलाई महोत्सवले जागरुक बनाउने विश्वास गरिएको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले संकटमा रहेको अर्थतन्त्र र आन्तरिक पर्यटनलाई चलायमान बनाउन दरवारमार्ग महोत्सवले ठूलो सहयोग पुर्याउने विश्वास प्रकट गरे।
प्रकाशित: १७ चैत्र २०७८, बिहीबार