सेक्यूरिटी प्रेस आएपछि गोप्य सूचनाहरुको डाटावेश स्वदेशमा नै सुरक्षित रहने सञ्चारमन्त्रीको दाबी

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
सेक्यूरिटी प्रेस आएपछि गोप्य सूचनाहरुको डाटावेश स्वदेशमा नै सुरक्षित रहने सञ्चारमन्त्रीको दाबी
२०७८ चैतमा बहुउद्देशीय सुरक्षण मुद्रण केन्द्र भवनको शिलान्यास गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेद्रबहादुर कार्की । फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले स्वदेशमा नै आधुनिक प्रविधियुक्त सुरक्षण मुद्रण छापाखाना स्थापनाले मुलुकलाई मुद्रण क्षेत्रमा आत्मानिर्भर बनाउने विश्वास लिएको बताएका छन्।

काभ्रेको पनौती नगरपालिका वडा न ५ मा बन्न लागेको बहुउद्देशीय सुरक्षण मुद्रण केन्द्र भवनको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुरक्षण छापाखाना सञ्चालनमा आएसँगै मुद्रण क्षेत्रमा मुलुक आत्मानिर्भर हुने सरकारले विश्वास लिएको बताए ।

पासपोर्ट, बैङक नोट, बैङक कार्ड र अन्तःशुल्क स्टिकर जस्ता सुरक्षण मुद्रण कार्यका लागि विदेशी संस्थामा निर्भर हुनुपर्ने अवस्था रहेको बताउँदै मन्त्री कार्कीले, भने, “छापाखाना स्थापना भए पश्चात यसले राष्ट्रिय उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सहित विदेशबाट आयात भइरहेको सुरक्षण मुद्रण सामग्रीहरुको आयात प्रतिस्थापनमा सहयोग पुग्ने र त्यसले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने छ। ”

उनले नेपाल सरकारले सुरक्षण मुद्रणलाई उच्च प्राथमिकता दिइ बजेट, कार्यक्रममा समावेश गर्दै आएको जानकारी दिए। उनले सुरक्षण मुद्रण केन्द्रलाई द्रूतगतिमा सुरक्षण छपाईको कार्य अगाडि बढाउन मन्त्रालयको टिमलाई निर्देशन गरे।

उनले छापाखाना सञ्चालमा आएपछि राष्ट्रिय महत्वका गोप्य सूचनाहरुको डाटावेश स्वदेशमा नै सुरक्षित रहने बताउँदै हाल विदेशमा भण्डार गर्नुपर्ने बाध्यताको अन्त्य र दुरुपयोगको सम्भावना समेत नरहने बताए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सुरक्षण मुद्रण केन्द्रको काम समय मै सक्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले छिटो भन्दा छिटो मुद्रण छापाखाना सञ्चालन गर्ने तयारीमा मन्त्रालय रहेको बताउनुहुँदै मुद्रण छपाईका लागि चाहिने आवश्यक उच्च स्तरको जनशक्ति व्यवस्थापन र जनशक्ति लागि चाहिने तालिम लगायतमा आवश्यक बिषयमा मन्त्रालयले काम अगाडि बढाएको बताए।

सुरक्षण मुद्रण विकास समितिका कार्यकारी निर्देशक विकल पौडेलले उक्त भवन निर्माण पश्चात सुरक्षण मुद्रण सामग्री भण्डारको लागि गोदामको रुपमा र सुरक्षण मुद्रण सम्बन्धी उपकरण जडान गर्न सकिने बताए।

२०७९ कात्तिममा सम्पन्न गर्ने लक्ष्य लिइएको बहुउद्देश्यीय सुरक्षण मुद्रण केन्द्र भवन ३५ करोड लागत लाग्ने सुरक्षण मुद्रण विकास समितिले जनाएको छ। गोरखापत्रबाट

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...