
काठमाडौं ।
चीनको दूरसञ्चार कम्पनी ह्वावेले सन् २०२१ मा ठोस सञ्चालन कायम राख्दै ११३.७ अर्ब युआन (लगभग १७.८ अर्ब अमेरिकी डलर) खुद नाफा हासिल गरेको छ, जुन गत वर्षको तुलनामा ७५.९ प्रतिशतले बढेको कम्पनीले सोमबार जानकारी दिएको छ।
यसका साथै कम्पनीको राजस्व आम्दानी ६३६.८ अर्ब युआन रहेको सिन्ह्वाले रिपोर्टमा उल्लेख गरेको छ। कम्पनीको आम्दानी पहिलो पटक घटेको छ जसअनुसार २८.५ प्रतिशत वार्षिक दरमा गिरावट आएको हो।
“समग्रमा, हाम्रो कार्यसम्पादन पूर्वानुमान अनुरूप थियो,” ह्वावेका रोटेटिङ्ग चेयरम्यान, गुओ पिङले दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको शेन्जेनमा आयोजित आफ्नो २०२१ वार्षिक रिपोर्ट प्रेस सम्मेलनमा भने।
“हाम्रो क्यारियर व्यवसाय स्थिर रह्यो, हाम्रो उद्यम व्यवसायले स्थिर वृद्धि अनुभव गर्यो, र हाम्रो उपभोक्ता व्यवसाय चाँडै नयाँ डोमेनहरूमा विस्तार भयो,” गुओले भने।
प्रतिवेदन अनुसार, २०२१ मा, ह्वावेको क्यारियर व्यवसायले २८१.५ अर्ब युआन राजस्व आर्जन गरेको छ। यसका साथै संसारभरका क्यारियरहरू र साझेदारहरूसँग काम गरेर, कम्पनीले औद्योगिक ५जी एप्लिकेसनहरूको लागि ३ हजार भन्दा बढी व्यावसायिक सम्झौताहरूमा हस्ताक्षर गर्यो।
यस अवधिमा, ह्वावेको इन्टरप्राइज व्यवसाय द्रुत रूपमा बढेको छ र यसले १०२.४ अर्ब युआन राजस्व आर्जन भएको छ। ७०० भन्दा बढी सहर र २६७ फर्च्युन ग्लोबल ५०० कम्पनीहरूले ह्वावेलाई आफ्नो डिजिटल रूपान्तरण साझेदारको रूपमा रोजेका छन् र कम्पनीले अहिले विश्वभर ६,००० भन्दा बढी सेवा र सञ्चालन साझेदारहरूसँग काम गरिरहेको रिपोर्टमा उल्लेख छ।
यसैबीच, यसको उपभोक्ता व्यवसायले गत वर्ष २४३.४ अर्ब युआन राजस्व उत्पन्न गर्यो र स्मार्ट वेयरेबल, स्मार्ट स्क्रिन, ट्रु वायरलेस स्टेरियो (टीडब्लुएस) इयरबड्स, र ह्वावे मोबाइल सेवाहरू (एचएमएस) मा स्थिर बिक्रीको वृद्धि जारी राखेको छ।
“सन् २०२१ मा राजस्वमा कमी आए पनि, नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने हाम्रो क्षमता बढ्दै गएको छ र हामी अनिश्चिततासँग लड्न सक्षम छौं,” ह्वावेकी प्रमुख वित्तीय अधिकृत मेङ वान्झोउले पत्रकार सम्मेलनमा भनिन्। उनी क्यानाडाबाट फिर्ता भएसँगै पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएकी हुन्। उनले क्यानाडामा सरकार विरुद्ध कानूनी लडाईँ लडेकि थिईन्।
वार्षिक प्रतिवेदनले सन् २०२१ मा सञ्चालन गतिविधिबाट कम्पनीको नगद प्रवाह नाटकीय रूपमा बढेर ५९.७ अर्ब युआन पुगेको देखाएको छ।
कम्पनीले २०२१ मा १४२.७ अर्ब युआनको रेकर्ड आर एण्ड डी खर्च गरेको छ, जुन यसको कुल राजस्वको २२.४ प्रतिशत प्रतिनिधित्व गर्दछ र यसले विगत १० वर्षहरूमा यसको कुल आर एण्ड डी खर्चलाई ८४५ अर्ब युआनमा पुर्याएको छ।
२०२१ मा, ह्वावेले खुला सहयोग र साझा वृद्धिका सिद्धान्तहरूमा आधारित आफ्नो ओपनईयूलर, माइन्डस्पोर, र हार्मोनीओएस इकोसिस्टमहरू निर्माण गर्नमा पनि ध्यान केन्द्रित गर्यो। रिपोर्ट अनुसार ८० लाख भन्दा बढी विकासकर्ताहरूले हाल ह्वावेको खुला प्लेटफर्महरू, खुला स्रोत सफ्टवेयर र डेभलपर टूलहरू प्रयोग गरिरहेका छन्।
“अगाडि बढ्दै, ह्वावेले डिजिटलाइजेसन, बौद्धिक रूपान्तरण र न्यून कार्बनको आफ्नो यात्रालाई अगाडि बढाउने छ,” गुओले भने।
प्रकाशित: १५ चैत्र २०७८, मंगलवार