अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखिकरण अनिवार्य

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखिकरण अनिवार्य

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखिकरण कायर्क्रम’ को शुभारम्भ गरेको छ।

उक्त कार्यक्रम अन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्धारा अभिमुखिकरण गराइएको हो। अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनु अघि अभिमुखिकरणलाई काउन्सिलले अनिवार्य गरेको छ।

काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले ब्यानर पढेर औपचारिक शुभारम्भ गरे।

सो अवसरमा विषय विज्ञ एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा.महेन्द्र विष्टले अनलाइन पत्रकारितालाई भरपर्दो र थप विश्वसनीय बनाउन अभिमुखिकरण आवश्यक भएको भन्दै निरन्तरता दिनुपर्ने बताए। अनलाइन र युट्युबका नाममा बढ्दो बेथिति रोक्न काउन्सिललाई थप बलियो बनाउनुपर्ने, मिडिया व्यवस्थापनमा चुनौती थपिएकाले त्यसलाई व्यवस्थित बनाउन राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने धारणा राखे ।

विषय विज्ञ एवं महासङ्घका पूर्वअध्यक्ष गोविन्द आचार्यले काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता र विभिन्न निर्देशिकाबारे प्रकाश पारे । उनले पछिल्लो समय काउन्सिलले सक्रियता बढाएकोले राम्रो सन्देश गएको भन्दै नियतले गरेको गल्ती हो कि मानवीय त्रुटी छुट्याउन विशेष ध्यान दिनुपर्ने बताए। हिजोको दिनमा आचारसंहिता बारे पर्याप्त शिक्षा नपुगेर सञ्चारमाध्यममा सही समाचार नआएको हुनसक्ने अब यस्ता अभिमुखिकरणले सचेतना बढ्ने विश्वास व्यक्त गरे।

काउन्सिलका अध्यक्ष बस्नेतले पछिल्लो समय अनलाइनलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग समन्वय गरी काम भइरहेको जानकारी दिँदै भने, ‘काउन्सिललाई अझ सशक्त र प्रभावकारी बनाउन सोच–विचारका साथ लागिरहेका छौँ।’

प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको भन्दै उनले अभिमुखिकरणलाई निरन्तरता दिने बताए। नयाँ मिडियालाई बहिस्कार नगरी परिस्कृत गराउनकै लागि यस्तो कार्यक्रम राखिएको अध्यक्ष बस्नेतको भनाइ थियो।

सहभागि अनलाइनका सञ्चालक/सम्पादकहरूले युट्युबलाई कानुनको दायरामा ल्याइनुपर्ने, पत्रकार आचारसंहिताको कार्यान्वयन अवस्था, मिडियाप्रतिको जनगुनासो, काउन्सिलले गर्ने अनुगमन तथा कारबाहीको विषयमा जिज्ञासा राखेका थिए।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले उक्त जिज्ञासामा केन्द्रित भई काउन्सिलमा सबै सञ्चार माध्यमको अभिलेखिकरण हुने र अनलाइनमार्फत उजुरी दिन सकिने व्यवस्था रहेको बताए। उनले सञ्चार माध्यम र पत्रकारले आचारसंहिता उल्लङ्घन गरेमा प्रेस पास निलम्बनको सिफारिसदेखि अनलाइन बन्द गरिने, लोकल्याणकारी विज्ञापन राक्ने तथा कालोसूचीमा राख्नेसम्मको अभ्यास भएको जानकारी दिए।

सहभागिमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइनलाई पमाणपत्र र आचारसंहिता उल्लिखित फ्लेक्स वितरण गरिएको थियो । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत कार्यक्रममा भौतिकरूपमा ३३ र जुममार्फत २० जनाको सहभागिता थियो ।

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...