
काठमाडौं ।
रुसले आफ्नो तेल र ग्यास निर्यातबापत बिटक्वाइनमा भुक्तानी स्वीकार गर्नेबारे सोचिरहेको एकजना रुसी सांसदले बताएका छन्।
सांसद पाभेल जाभाल्नीले मित्र राष्ट्रहरूलाई क्रिप्टोकरेन्सी वा तिनीहरूका आफ्नै स्थानीय मुद्रामा भुक्तानी गर्न अनुमति दिन सकिने बताएको बीबीसीले रिपोर्ट गरेको छ।
यसै साताको सुरुमा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘मैत्रीपूर्ण सम्बन्ध नभएका’ देशहरूले रुबलमा रुसी ग्यास किनून् भन्ने चाहेको बताएका थिए।
यो कदम रुसी मुद्राको मूल्य बढाउन चालिएको जस्तो बुझिएको छ। रुसी मुद्रा रुवलको यसै वर्षभित्र २० प्रतिशत अवमूल्यन भइसकेको छ।
युक्रेनमाथि आक्रमण गरेपछि बेलायत, अमेरिका र युरोपेली संघले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएकाले रुवलको अवमूल्यन हुनुका साथै रुसी जनजीवन निकै महँगो भएको छ। प्रतिबन्धको अनुसरण गरेर विश्वका थुप्रै नाम चलेका कम्पनीहरूले धमाधम रुसमा आफ्नो कारोबार बन्द गर्न थालेका छन् ।
अमेरिकाले बिहीबार पुनः रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ।
यद्यपि अझै पनि रुस विश्वको ठूलो प्राकृतिक ग्यास निर्यातकर्ता हो र दोस्रो ठूलो तेल आपूर्तिकर्ता हो।
रुसको स्टेट डुमाको ऊर्जा समितीको अध्यक्ष समेत रहेका जाभाल्नीले बिहीबार मुलुकले ऊर्जा निर्यातको भुक्तानी प्राप्त गर्ने वैकल्पिक उपायहरूको अन्वेषण गरिरहेको बताए।
उनले प्रतिबन्धको दबाबमा संलग्न नरहेका मुलुक चीन र टर्की मैत्रीपूर्ण मध्येमा पर्ने पनि बताएका थिए। उनले चीन र टर्कीले रुवल बदलामा क्रमशः युआन र लिरा अथवा बिटक्वाइनमा कारोबार गर्न सक्ने बताएका छन्।
विश्लेषकहरूकाअनुसार रुसले जोखिमका बाबजुद पनि लोकप्रिय क्रिप्टोकरेन्सी स्वीकारेर फाइदा लिन सक्ने छ।
प्रकाशित: १३ चैत्र २०७८, आईतवार