
काठमाडौं ।
खोटाङको रावाबेँसी गाउँपालिका क्षेत्रका सर्वसाधारणले मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा पुग्नुपर्ने समस्याको अन्त्य भएको छ। गाउँपालिकाको वडा नम्बर २ खार्पा र ५ दुबेकोलमा एकैसाथ नेपाल टेलिकमको दुईवटा टावर सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणको समस्या अन्त्य भएको हो ।
खार्पा र दुबेकोलको डाँडामा टावर देखिएको तीन वर्ष हुन लाग्दा पनि मोबाइलमा नेटवर्क नआउँदा ‘आकाशको फल आँखा तरी मर’ भन्ने नेपाली उखानजस्तै भएको स्थानीय बताउँदै आएका थिए । टेलिकमले ढिलागरी टावर सञ्चालनमा ल्याएपछि अहिले पालिकावासीको मुहारमा खुसी छाएको छ।
छ ओटा वडा रहको गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रका नागरिक यसअघि मोबाइलमा नेटवर्क खोज्दै डाँडाकाँडा जाने गरेका थिए।
बुधबारबाट दुईवटा टावर सञ्चालनमा आएसँगै सर्वसाधारणको सास्ती हटेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए।
गाउँमा नेटवर्क नहुँदा गाउँपालिका कार्यालयका कर्मचारीलाई पनि उत्तिकै सास्ती थियो । गाउँपालिकाको कार्यालयमा नेटवर्क नआउँदा अति आवश्यक काम पर्दा फोन गर्न कार्यालय छाडेर डाँडातिर निस्कनुपर्ने बाध्यता रहेकाले सेवा प्रवाहमा समेत समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापाले बताए ।
यसअघि, कोरोना भाइरसका कारण भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न समस्या हुँदा अनलाइन र फोनमार्फत पठनपाठनलाई निरन्तरता दिनुपर्ने बाध्यता भए पनि नेटवर्कको समस्याका कारण पठनपाठनमा समेत समस्या देखिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तीर्थराज दाहालको भनाइ छ। हाल टावर सञ्चालनमा आएसँगै यी सबै समस्याको अन्त्य भएको छ। गोरखापत्रबाट
प्रकाशित: १३ चैत्र २०७८, आईतवार