भारतको दिल्ली सरकारले अर्को वर्षसम्म “इ हेल्थ कार्ड” वितरण गरिसक्ने

  • Technology Khabar | १३ चैत्र २०७८, आईतवार
भारतको दिल्ली सरकारले अर्को वर्षसम्म “इ हेल्थ कार्ड” वितरण गरिसक्ने

काठमाडौं ।

भारतको दिल्ली सरकारले आफ्ना नागरिकलाई “इ हेल्थ कार्ड” वितरण गर्ने भएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले डिजिटल स्वास्थ्य कार्ड वितरण गर्ने कार्यलाई तयारी अवस्थामा पुर्याउन सम्बन्धित निकायका अधिकारीलाई शुक्रबार निर्देशन दिएका छन्।

भारतमा अर्को वर्ष सन् २०२३ को मार्चदेखि स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गर्ने तयारी भएकाले त्यस अगाडि नै सबैलाई “इ हेल्थ कार्ड” वितरण गरिसक्नु पर्ने भएको हो ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू हुनुभन्दा कम्तीमा पनि तीन महिना अगाडि सम्ममा इ हेल्थ कार्ड सबैलाई वितरण भइसक्नु पर्ने अधिकारीले जनाएका छन् ।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गराउनका लागि भइरहेको तयारीका बारेमा जानकारी लिन र समीक्षा गर्न शुक्रबार बसेको सरोकारवालाको बैठकमा मुख्यमन्त्री केजरीवालले “इ हेल्थ कार्ड” वितरण सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

नागरिकलाई वितरण गरिने इ हेल्थ कार्ड क्युआर कोडमा आधारित हुने र त्यसबाट नागरिकका स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिने अधिकारीले जनाएका छन् ।

दिल्लीका बासिन्दाहरूलाई मतदाता परिचयपत्र र जनसंख्या दर्ताको आधारमा क्यूआर कोड-आधारित कार्डहरू जारी गरिनेछ, जसबाट प्रत्येक बिरामीको जनसांख्यिकीय र आधारभूत क्लिनिकल जानकारी प्राप्त गर्न सकिन्छ। स्वास्थ्य योजना र कार्यक्रमहरूको लागि ई-स्वास्थ्य कार्ड मार्फत परिवार म्यापिङ गरिने अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली लागू गरेपछि स्वास्थ्य सेवा प्रदान गर्ने र लिने दुवै पक्षलाई सजिलो र छिटो हुने, धेरै झन्झट कटौती हुने सरकारी अधिकारीको दावी छ।

सो कार्डमा आधारित रहेर प्रत्येक बिरामीको स्वास्थ्य जाँच, फलोअप, शल्यक्रिया, चिकित्सा र खोप विवरणहरू जस्ता मेडिकल जानकारीहरू रेकर्ड गरिनेछ। वरिष्ठ सरकारी अधिकारीहरूले यस प्रणालीमा सेलफोन एप्लिकेसनका साथै बिरामीहरूलाई स्वास्थ्य सम्बन्धी जानकारी उपलब्ध गराउने सातै दिन चौबिसै घण्टा कल सेन्टर समावेश गर्ने बताएका छन्।

प्रकाशित: १३ चैत्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...