
काठमाडौं ।
बजारमा इन्टरनेटको गति जाँच गर्नका लागि धेरै एप उपलब्ध छन् । यी एपहरूले डाउनलोड गति र अपलोड गतिका साथै तपाईंको इन्टरनेट जडानको विलम्बता अर्थात लेटेन्सी जस्ता कुराहरू बारे जानकारी प्रदान गर्दछ।
तर गुगलको सहयोगमा तपाईले कुनै अतिरिक्त एप प्रयोग नगरिकनै पनि आफ्नो इन्टरनेट स्पिड पत्ता लगाउन सक्नुहुन्छ।
जसरी गुगलले यसको सर्च/ खोज परिणाम पृष्ठमा शब्दकोश, क्याल्कुलेटर र अनुवाद जस्ता सेवाहरू प्रदान गर्दछ, त्यसैगरी यसले खोज परिणामहरूमा तपाइँको इन्टरनेट गतिको बारेमा पनि बताउन सक्छ।
गुगलको सहयोगमा तपाइँ कसरी तपाइँको इन्टरनेट गति परीक्षण गर्न सक्नुहुन्छ हामी यहाँ तपाईँलाई बताउनेछौं।
गुगल सर्चमा इन्टरनेट स्पीड टेस्ट कसरी गर्ने ?
गुगलले सन् २०१६ मा नै आफ्नो सर्च पेजमा इन्टरनेट स्पीड टेस्ट अर्थात इन्टरनेटको गति जाँच गर्ने सुबिधा थपेको थियो। सुरुमा यो सुविधा सिमित व्यक्तिलाई दिइएको थियो र पछि थप प्रयोगकर्ताहरुका लागि रोलआउट गरिएको छ। तर यो फिचर सबै देशहरुमा भने सिधा उपलब्ध छैन् ।
यो सुविधा एन्ड्रोइड फोनहरूमा रहेको गुगल एपमा मात्र सीमित छैन। तपाईं यसलाई ल्यापटप, म्याकबुक, आईफोन र ट्याब्लेटमा पनि प्रयोग गर्न सक्नुहुन्छ। यसको लागि तपाईले गुगल सर्च गर्नुपर्छ।
तपाईंले आफ्नो इन्टरनेट ब्राउजरमा गुगल खोलेर वा गुगल एपमा ‘स्पीड टेस्ट’, ‘रन स्पीड टेस्ट’ (Speed Test, Run Speed Test) वा ‘चेक माई इन्टरनेट स्पीड'(Check My Internet Speed) टाइप गरेर खोज्नुपर्छ। अब तपाईको अगाडि एउटा बक्स देखा पर्नेछ, जसमा “रन स्पीड टेस्ट” (Run Speed Test) नामको बटन हुनेछ। यस बटनमा क्लिक गरेर, तपाईंले डाउनलोड गति, अपलोड गति र ३० सेकेन्डभन्दा कममा आफ्नो इन्टरनेट कनेक्सनको लेटेन्सी अर्थात विलम्बता थाहा पाउनुहुनेछ।
यो परीक्षणको नतिजा मेगा बिट प्रति सेकेन्डमा आउनेछ। यसलाई मेगा बाइट्स प्रति सेकेन्ड, वा एमबीपीएसमा रूपान्तरण गर्न, तपाईंले यो गतिलाई ८ ले भाग गर्न आवश्यक छ।
गुगलले सरल शब्दमा तपाईको स्पीड सुस्त छ कि छिटो छ भन्नुका साथै तपाईले यो स्पीडबाट के कस्ता काम सजिलै गर्न सक्नुहुन्छ भन्ने पनि बताउनेछ।
प्रकाशित: १२ चैत्र २०७८, शनिबार