गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टर सञ्चालन गर्न आविष्कार केन्द्रसँग सम्झौता

  • Technology Khabar | १२ चैत्र २०७८, शनिबार
गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टर सञ्चालन गर्न आविष्कार केन्द्रसँग सम्झौता

काठमाडौं ।

गण्डकी विश्वविद्यालयले सुरुवात गरेको इनोभेसन सेन्टर (आविष्कार केन्द्र) सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको छ।

सम्झौतापत्रमा विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङ र केन्द्रका अध्यक्ष महावीर पुनले हस्ताक्षर गरे।

सम्झौताअनुसार शिक्षण एवं अनुसन्धान केन्द्रका रूपमा विकास गर्न र व्यावहारिक विज्ञान तथा प्रविधिको क्षेत्रमा देशको आवश्यकताअनुरूप अनुसन्धान गरी देश विकासमा टेवा पुर्याउने लक्ष्य लिइएको छ।

केन्द्रका अध्यक्ष पुनले गण्डकी विश्वविद्यालयको इनोभेसन सेन्टरमा महिनामा पाँच/छ दिन आएर बस्ने बताए। उनले भने, “सेन्टरसँग म पनि जोडिन पाएकोमा खुसी छु । विश्वविद्यालयको भीडमा यो पृथक बन्ने छ भन्नेमा आशावादी छु।”

गण्डकीमा बन्न लागेको इनोभेसन सेन्टरका लागि सरकारले पनि कम्तीमा एक प्रतिशत बजेट छुट्याउनुपर्ने पुनले बताए । उनले भने, “सरकारले बजेट नछुट्याएका कारण नै हाम्रो केन्द्र सहयोग र अनुदानबाट चलेको हो । देशको अर्थतन्त्र माथि लैजान यस्ता आविष्कार केन्द्रको महत्वपूर्ण भूमिका रहन्छ।”

उनले विश्वविद्यालयमा बन्न लागेको इनोभेसन सेन्टर चौबीसै घण्टा खुला हुनुपर्ने र हरेक व्यक्तिको पहुँचमा हुनुपर्ने सुझाव दिए।

कुलपति प्राडा गणेशमान गुरुङले इनोभेसेन सेन्टरले गण्डकी विश्वविद्यालयको दायरा फराकिलो बनेको बताए। कर्मचारी पदपूर्ति भएपछि अबको दुई महिनामा आविष्कार केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए। उत्पादन प्राथमिकतामा धेरै कुरा भए पनि तत्काल गोबर धुलो बनाउने मेसिन, इलेक्ट्रिक चुलो, अलैँची तथा कफी सुकाउने मेसिन उत्पादन गर्ने लक्ष्य लिइएको जानकारी उनले दिए।

विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाका अनुसार साढे दुई करोड रुपैयाँको सामान आइसकेको र ७० थरी औजार खरिद प्रक्रियामा रहेको छ। उनले जतिसक्दो छिटो छ/सात थरी उत्पादन आउन लागेको जानकारी दिए।

प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा समाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले सङ्घीयता आवश्यक छैन भन्नेलाई जवाफ दिने गरी प्रदेश सरकारले काम गर्नु परेको बताए। उनले भने, “अब विद्यालय तहबाटै अनुसन्धानमा जोड दिनुपर्ने बेला आएको छ। आउँदो बजेटमा सिर्जनशील कामका लागि बजेट छुट्याइने छ।”

उनले अध्ययनसँगै उत्पादनमा पनि जोड दिनुपर्ने सुझाव दिए।

गण्डकी प्रदेशले दुई वर्षअघि विश्वविद्यालय स्थापना गरेको थियो । प्रदेश सरकारले गण्डकी विश्वविद्यालय स्थापना, सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेक २०७६ मा प्रदेश राजपत्रमा प्रकाशित ऐनअनुसार अध्ययन र अनुसन्धानको काम सुरु भएको हो।

विश्वविद्यालयले अध्ययनसँगै पोखरा–३२, भण्डारीढिकमा स्पोर्टस् म्यानेजमेन्ट, फार्मेसी र महेन्द्रपुलमा आईटी पढाइरहेको छ। विश्वविद्यालयले अनुसन्धानतर्फ कोदोको रक्सीको ब्रान्डिङको काम थालनी गरेको छ । गोरखापत्रबाट

प्रकाशित: १२ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...