
काठमाडौं ।
बोनस शेयर घोषणा गरेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को शेयर मूल्य समायोजन गरेसँगै घटेको छ। कम्पनीको शेयर मूल्य समायोजन भएसँगै शेयर बजारमा कारोबार मूल्य घटेको हो।
एकैदिन नेपाल टेलिकम र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो।
२० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको नेपाल टेलिकमको मूल्य सोहीअनुसार समायोजन भएको हो। मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १,२२०.८३ रुपैयाँ कायम भएको छ। नेप्सेकाअनुसार समायोजन अघि कम्पनीको शेयर मूल्य १,४६५ रुपैयाँ निर्धारण थियो।
अब आइतबारको बजारमा हुने कारोबारमा टेलिकमको पहिलो सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर हुनेछ।
नेपाल स्टक एक्सचेन्जको फ्लोरसिट हेर्दा कम्पनीको शेयर बुधबारसम्म बजारमा १,५०८ रुपैयाँमा कारोबार भएको देखिन्छ।
मूल्य समायोजनले कम्पनीको शेयर मूल्य एकै पटक २४४.१७ रुपैयाँ घटेको छ।
कम्पनीले पहिलो पटक बोनस शेयर घोषणा गरेसँगै विवादमा पर्दै आएको छ। शेयर बजारका कारोबारीहरुको प्रभावमा कम्पनी बोर्डले बोनस शेयर दिने निर्णय गरेको आरोप लाग्दै आएको छ।
यहि चैत २४ गते बिहिबार नेपाल टेलिकमले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले आर्थिक्व वर्ष ०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २० प्रतिशत नगद लाभांश गरि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश बितरण हुनेछ। टेलिकमका चैत १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार