सुजुकी मोटरले भारतमा ईभी उत्पादन गर्न १ अर्ब ३७ करोड डलर लगानी गर्ने

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
सुजुकी मोटरले भारतमा ईभी उत्पादन गर्न १ अर्ब ३७ करोड डलर लगानी गर्ने

काठमाडौं ।

जापानी अटो निर्माता सुजुकी मोटर कम्पनीले भारतस्थित आफ्नो विद्युतीय सवारी साधन उत्पादन कारखानामा १ अर्ब ३७ करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ।

जापानी कार निर्माताको धेरै लगानी रहेको मारुती सुजुकी इन्डियाले विद्युतीय कारहरू (ईभी) लगायत ब्याट्री उत्पादन गरिने जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ। मारुती सुजुकीले भारतका लागि पहिलोपटक यसरी बृहत ईभी योजना घोषणा गरेको हो।

भारत भ्रमणमा रहेका जापानकी प्रधानमन्त्री फुमियो किसिदाले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर बराबरको लगानी गर्ने घोषणा गरेका थिए।

कम्पनीकाअनुसार सुजुकी मोटर गुजरात प्राइभेटले सन् २०२५ सम्ममा ब्याट्री ईभी उत्पादन क्षमता वृद्धिका लागि ३१ अर्ब भारतीय रुपैयाँ र ब्याट्री उत्पादन कारखाना निर्माणका लागि ७३ अर्ब भारु लगानी गर्ने भएको छ।

सुजुकी मोटरका अध्यक्ष तोसिहिरो सुजुकीले सुजुकीको भावि अभियान नै साना कारहरूलाई कार्बन ग्यासबाट मुक्त गर्नु रहेको बताएका छन् ।

सुजुकीले भारतमा विद्युतीय कार उत्पादनका लागि नयाँ उत्पादन लाइन नै स्थापना गर्ने बताइसकेको छ। सुजुकीले २०२५ अगावै भारतमा विद्युतीय कार उत्पादन गर्ने घोषणा यसअघि नै गरिसकेको छ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...