काठमाडौं ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो साता एउटा विशाल क्षुद्रग्रह पृथ्वीको नजिक आउने बताएको छ। २०१३ बीओ७६ (2013 BO76) नामक यो क्षुद्रग्रह करिब २०० देखि ४५० मिटर चौडा हुनेछ र यसले ५० हजार किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्नेछ।
एजेन्सीले यो क्षुद्रग्रहलाई ‘सम्भावित रूपमा खतरनाक’ भनेर वर्गीकृत गरेको छ, यद्यपि यो पृथ्वीबाट सुरक्षित दूरीमा उड्ने अपेक्षा गरिएको छ। नासाका अनुसार फुटबल स्टेडियमको आकारको यो क्षुद्रग्रह नेपाली समयअनुसार आउँदो शुक्रबार पृथ्वीको सबैभन्दा नजिक पुग्ने साइन्सटाइम्सले रिपोर्ट गरेको छ।
नासाले यो क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिक हुँदा पनि यसको र पृथ्वीबीचको दूरी ५१ लाख किलोमिटरभन्दा बढी हुने बताएको छ। यो चन्द्रमा र पृथ्वी बीचको दूरी भन्दा १३ गुणा बढी हो।
त्यसोभए किन यसलाई सम्भावित खतरनाक श्रेणीमा राखिएको छ? वास्तवमा यो क्षुद्रग्रहको आकार र पृथ्वीबाट यसको दूरीलाई ध्यानमा राखेर गरिन्छ। यसको मतलब यो होइन कि त्यो क्षुद्रग्रह पृथ्वीको लागि कुनै पनि प्रकारको खतरा बन्न सक्छ।
यो विशाल उल्कापिण्डले पृथ्वीको कुनै पनि क्षेत्रसँग ठोक्किएमा पूरै सहरलाई नै ध्वस्त पार्न सक्ने क्षमता रहेको रिपोर्टमा जनाएको छ।
यसलाई ‘क्लोज अप्रोच’ किन भनिन्छ भन्ने प्रश्न पनि छ। वास्तवमा, यो वैज्ञानिकहरूले प्रयोग गर्ने शब्द हो। त्यसैले यो क्षुद्रग्रह पृथ्वीको नजिक पुग्दा पनि यसको दुरी धेरै हुनेछ। वैज्ञानिकहरूले यो शब्द प्रयोग गर्ने भएकाले, २०१३ बीओ७६ नामको क्षुद्रग्रह नासाको क्लोज अप्रोच सूचीमा समावेश गरिएको हो।
एस्टेरोइड २०१३ बीओ७६ ६०० र १५०० फिट बीचको ठूलो अन्तरिक्ष चट्टान हो जुन मार्च २४ मा पृथ्वीको नजिकबाट जान्छ।
डेली स्टारको रिपोर्टका अनुसार प्यानस्टार्स (PanSTARRS) सर्वेक्षणले जनवरी १७, २०१३ मा सो एस्टेरोइड फेला पारेको थियो।
भर्चुअल टेलिस्कोप परियोजनाले मार्च ७ मा उक्त अन्तरिक्ष चट्टान फेला पारेको थियो जबकि यो अझै पृथ्वीबाट १ करोड ५० लाख माइल टाढा थियो।
नासाको सेन्टर फर नियर-अर्थ अब्जेक्ट स्टडीज (CNEOS) का अनुसार एस्टेरोइड बीओ ७६ यसै हप्ता पृथ्वीको नजिक आउनेछ। यसको गति लगभग ५० हजार किलोमिटर प्रतिघण्टा हुनेछ।
एजेन्सीले अहिलेसम्म कुनै पनि ठूला क्षुद्रग्रह फेला नपरेको आश्वस्त पारेको छ, जसले आगामी दिनमा पृथ्वीसँग ठोक्किएर खतरा निम्त्याउन सक्छ। अमेरिकी अन्तरिक्ष एजेन्सीले पृथ्वीलाई खतरामा पार्ने क्षुद्रग्रहको बाटो परिवर्तन गर्न सक्ने प्रविधिमा पनि काम गरिरहेको बताईएको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार