कीर्तिमानी आरोही निर्मल पुर्जाको उपस्थितिमा तीन शहरमा कन्सर्ट आयोजना गर्दै वर्ल्डलिङ्क

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार

काठमाडौं ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’ का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको छ।

कम्पनीले यही चैत १० गते चितवनमा तथा १२ गतेका दिन पोखरा र काठमाडौंमा ‘वर्ल्डलिङ्क कार्निभल २.०’ आयोजना गर्ने भएको हो।

हाल बेलायतमा रहेका पुर्जा १० गते नेपाल आइपुग्ने छन्। सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमासहित विशेष कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो।

नारायणीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिङ्कले मुख्य प्रायोजन गर्नेछ। त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ। चितवनमा हुने कार्यक्रममा राजु लामा, स्वप्निल शर्मा गायन प्रस्तुती समेत रहनेछ।

त्यसको भोलिपल्ट अर्थात् चैत १२ गते एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिङ्क कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ। बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको विशेष उपस्थिति रहने र उनले आफ्नो भनाई समेत राख्ने कार्यक्रम छ।

कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिङ्कले जनाएको छ। काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ।

त्यस्तै पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश रहेको बताईएको छ।

‘वर्ल्डलिङ्क कार्निभल २.० मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षणसमेत पाउन सकिनेछ। कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

पुर्जा वर्ल्डलिङ्क कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार